सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय नाघ्यो, ३ जना भेन्टिलेटरमा

मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण 
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ९५ जनाको परीक्षण गरिएकोमा थप ८१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका २९ सहित ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  धनगढी उप–महानगरपालिकाका २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १ र ५ का ५÷५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै वडा नम्बर ४, १२, १३ र १५ का दुई दुई जना, त्यसै गरी वडा नम्बर ६ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए। त्यस्तै कैलालीकै लम्की चुहा नगरपालिका–३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका एक एक जनामा समेत कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, त्यसै गरी महाकाली नगरपालिका–२,  पुर्नवास नगरपालिका–१ र भीमदत्त नगरपालिका–१८ का एक÷एक जनामा भाइरसको सङ्क्रमण देखिएको छ। त्यस्तै दार्चुलाको नौ गाढ गाउँपालिका–२ र डडेलधुराको अजय मेरु गाउँपालिका– १ का एक एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।  उता, डडेलधुरामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो। परशुराम नगरपालिकाका १७ जना र नवदुर्गा गाउँपालिकाका २ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

डडेलधुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएको छ। कार्कीका अनुसार डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १२ जना, सायल गाउँपालिकाका एक र केआइसीह गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । डोटी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६२ जनाको नमुना परीक्षण गरिएको थियो। यस्तै जिल्ला अस्पताल बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ हजार २ सय ५ पुगेको छ ।  ६ हजार ९ सय ४ जना निको भएका छन् । १ हजार २ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी ६ सय ७३ जना सक्रिय सङ्क्रमित धनगढीमा छन्  । संक्रमणका कारण गम्भिर भएका ३ जनालाई सेती अस्पतालको भेन्टिलेटरमा राखिएको छ । ४ जना आइसियुमा उपचाररत छन् । प्रदेश भरी हाल सम्म १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्ला केही दिन यता सङ्क्रमण बढै गएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । सके सम्म बिना काम बाहिर ननिस्कन र निस्कनै परे मास्क प्रयोग गरी सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ । 

प्रकाशित:
2020/10/13, 7:57