कोरोना सङ्क्रमणको हटस्पट बन्दै धनगढी 

धनगढीका कुन वडामा कति सङ्क्रमित ?
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । धनगढीमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । धनगढीमा सङ्क्रमितको सङ्ख्या ९ सय ९७ पुगेको छ ।

प्रदेशमै सबैभन्दा बढी सक्रिय सङ्क्रमित ६ सय ७३ जना कैलालीमा छन् । ती मध्ये दुई सय दुई जना सक्रिय सङ्क्रमित धनगढीमा रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

धनगढीमा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ । उनका अनुसार धनगढीका १९ वटै वडामा सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी वडा नम्बर– १ का दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर– २ का एक सय ९७, वडा नम्बर– ३ का ८७, वडा नम्बर–४ का ६३, वडा नम्बर– ५ का १ सय २३, वडा नम्बर –६ का ३०, वडा नम्बर– ७ का २८, वडा नम्बर –८ मा ४३ जना सङ्क्रमित रहेको उपाध्यायले बताए । 

वडा नम्बर –९ का १६, वडा नम्बर– १० का तीन जना, वडा नम्बर–  ११ का २०, वडा नम्बर –१२ का ६२, वडा नम्बर–  १३ का २२, वडा नम्बर –१४ का २९ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

वडा नम्बर–  १५ का १३ जना, वडा नम्बर–  १६ का ५ जना, वडा नम्बर –१७ का ४ जना, वडा नम्बर –१८ का २८ जना र वडा नम्बर–  १९ का ११ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका मध्ये पाँच सय ५२ पुरुष र दुई सय ३९ महिला गरी सात सय ९१ जना सङ्क्रमण मुक्त भएका छन् ।

सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट इमर्जेन्सी फिजिसियन डा. जगदीश जोशीका अनुसार मानिसहरूको बजारमा भिडभाड बढी हुने र स्वास्थ्य सजगता नअपनाउने गरेकै कारण धनगढीमा सङ्क्रमण बढ्दै गएको हो ।

अझ भारतबाट आउने मानिसहरू पनि बजारमा किनमेल गरी राख्ने र उनीहरू सँगै मानिसहरूको सम्पर्क हुने भएकाले पनि सङ्क्रमण बढी रहेको छ । पछिल्लो समय समुदायमा सङ्क्रमण फैलिसकेका कारण सजगता नअपनाए यसले अझै भयावह रूप लिने तर्फ चिकित्सकले सचेत गराएका छन् ।

यस्तो समयमा सकेसम्म भिडभाडमा नजान र जानै परे मास्क अनिवार्य प्रयोग गर्न र दुरी कायम गर्न डा जोशीले नागरिकलाई सुझाव दिएका छन् । 

 

प्रकाशित:
2020/10/14, 8:42