कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले बनाए विश्व कीर्तिमान   

एक घण्टामा एक खुट्टाले हाने २७५० किक 
Karate
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउन्ड हाउस किक ईन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन्  । सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले धनगढीमा आज एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेर नयाँ रेकर्ड बनाएका छन् ।

कार्यक्रम दिउँसो ठिक १२ः३० मा सुरु भई १३ः३० सम्म एक घण्टामा २७५० किक हानेर सो रेकर्ड बनाएका हुन् । धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरू, कञ्चनपुर तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका वरिष्ठ उपाध्यक्ष केशव भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरी लगायत प्रदेश सङ्घका पदाधिकारीहरूको समेत उपस्थिति भएको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका महासचिव पदम विक्रम सिंहले सञ्चालन गरेका थिए ।  

अब अर्को रेकर्ड अक्टोबर २० का दिन मोष्ट मार्सल आर्ट्स किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन् । हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यस पश्चात् दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाइने छ । 

 

 

प्रकाशित:
2020/10/15, 6:17