शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खुल्यो जंगल सफारी

सुदूर प्रेस संवाददाता

कञ्‍चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।

निकुञ्ज प्रशासनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मात्रै सफारी गर्न सकिने आफ्नो सूचनामा जनाएको छ । दसैं–तिहारको अवधिमा आन्तरिक पर्यटकहरू आउने भएकाले सफारी र जंगल वाक खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रविन चौधरीले बताए ।

सफारी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने तथा तोकिएको रुटमा मात्रै सफारी गर्न पाइने जनाएको छ । कोरोनाको जोखिम रहेकै कारण निकुञ्जमा हात्ती सफारी, फिसिङ, र्‍याफ्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरूमा भने रोक लगाइएको छ । ‘कोरोनाको जोखिम कायमै भएकाले यस्ता गतिविधिमा रोक लगाइएको छ,’ चौधरीले भने ।

गत वर्ष १ हजार ७ सय ७३ जना पर्यटक मात्रै शुक्लाफाँटा निकुञ्जमा प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्षमा ६ हजार बढी पर्यटक भित्रिएका थिए । ‘हामीले गत वर्ष ८/१० हजार पर्यटक भित्रिने अनुमान गरेका थियौं,’ चौधरीले भने, ‘तर कोरोनाका कारण लामो समय निकुञ्ज प्रवेशमा रोक लगाउनुपर्‍यो ।’ अहिले निकुञ्जभित्र बाटो सरसफाइदेखि घाँसे मैदान व्यवस्थापनलगायत कामहरू भइरहेका छन् ।

यतिबेला निकुञ्ज घुम्ने राम्रो सिजन मानिन्छ । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगेका ठूलो झुन्ड यहाँको प्रमुख आकर्षण हो । घाँसे मैदान व्यवस्थापनपछि नयाँ पालुवा चर्न फाँटभरि हजारौंको संख्यामा एकै ठाउँमा बाह्रसिंगाको झुन्ड सहजै देख्न सकिन्छ । निकुञ्जमा बाह्रसिंगेबाहेक बाघ, गैंडा, हात्ती र चित्तललगायत वन्यजन्तु पनि हेर्न सकिन्छ ।

कम क्षेत्रफलमा बढी बाघ भएको निकुञ्जका रूपमा पनि शुक्लाफाँटालाई लिइन्छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पछिल्लो गणनाअनुसार १६ वयस्क बाघ छन् ।

प्रकाशित:
2020/10/19, 9:45