धनगढी - धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएका नेपाली काँग्रेस डोटीका नेता तेज पुनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उनलाई हिजो बाट भेन्टिलेटरमा राखिएको थियो ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल ल्याइएको थियो । उनमा मङ्गलवार कोरोना पुष्टि भएको थियो।
पुनको शव भवानी दल गणबाट सह सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको टोलीले गोदावरी नगरपालिका वडा नं ४ को तेघरी सामुदायिक वनमा व्यवस्थापन गरेको हो ।