दसैँ (कविता)

padma raj joshi

पद्मराज जोशी प्रभात

यो हाम्रो नव वर्ष वर्ष भरिमा वर्साेस मधु नै मधु।
हाम्रा नेत्रहरू सधैँ जगतमा देखुन् मधु नै मधु।
हाम्रा कान कल्याणका अझ कथा लम्केर सुन्दै गरुन् ।
हाम्रा मनमनमा रमेर रसिला सद्भाव बर्सी रहुन्।

विणां वादिनी मुखमा बसिदिउन् वाणी बनुन् सुन्दर।
नाना कष्ट अनिष्ट भागी तनमा छावस सधैँ मङ्गल।
हाम्रो जीवनमा सदैव रसिलो संस्कार बाँचिरहोस्
कोरोना सब सिद्दियाेस् भुवनमा संसार हाँसी रहाेस।

हाम्रा सुन्दर वाटिका वनभरि वांस्दै गरेस् न्याउली ।
हाम्रा बाग उद्यानमा दिन दिनै फुल्दै रहेस् प्याउली।
आयो बाल वसन्त गाउँ घरमा खुलेर गा कोइली।
जा जा जा अवजा अनिष्ट परजा सन्त्रासकी झ्याउली।

हाम्रो दिव्य हिमाल विश्व जगमा चम्केर हाँसिरहोस्।
नेपाली जनका मधुर मुखमा मुस्कान छाई रहोस्।
सप्पै मानव जातिमा अब छिटो सन्त्रासको बन्धन।
छुटोस् मुक्ति मिलोस् सबै जगतमा हाँसुन् सबै सज्जन।

पद्मराज जोशी प्रभात

धनगढी–२ सन्तोषिटोल

 

 

प्रकाशित:
२०७७ कार्तिक , ०७:०६