मटर तस्करीमा संलग्न धनगढीका एक जना व्यापारी पक्राउ

धनगढी–धनगढीमा दुई जना प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न पक्राउ परेका अन्य ८ जनाको बयानका आधारमा धनगढीमा रहेको आदित्य ट्रेडिङका सञ्चालक ३६ वर्षीय राजीव गुप्ताको संलग्नता देखिएपछि मंगलबार उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए । उनले धनगढीका अवैध नाकाबाट तस्करलाई प्रयोग गरी मटर तस्करी गराउने गरेको प्रहरीले जनाएको छ । 

गत कार्तिक  १ गते राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउदको बीभत्स हत्या गरिएको थियो ।

दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट मटर तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो भने हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । १ जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरूको अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । 

 

प्रकाशित:
2020/11/04, 2:33