पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

नवलपरासी–नवलपरासी (पूर्व) स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका पाँचजना मजदुरको पहिरोमा पुरिएर ज्यान गएको छ। बुधबार साँझ ५ बजे नवलपरासी (पूर्व) स्थित बुलिङटार गाउँपालिका-३ खसुवामा ती मजदुरको ज्यान गएको हो। कालीगण्डकीको कोरिडोरको बाटोमा जाली भर्न खटिएका मजदुरहरु माथिबाट सुख्खा पहिरो खसेर पुरिएका थिए। पुरिएकामध्ये पाँजचनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ। 

घटनामा ज्यान गुमाउनेहरूमा नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका-४ बस्ने २० वर्षीय गोपाल गरञ्जा, गरञ्‍जाकै गाउँका करिब ४३ वर्षीय सुन बहादुर पुलामी, २० वर्षीय तारा बहादुर लुङ्गेली, अर्का २० वर्षीय चेत बहादुर अस्लामी र करिब २९ वर्षीय तुलबहादुर सारु रहेका छन्। 

घटनामा घाइतेहरूमा बुलिङटार गाउँपालिका-४ बस्ने १९ वर्षीय केवल सिंह लुङ्गेली र २१ वर्षीय कृष्ण सिंह लुङ्गेली छन्। उनीहरुको खुट्टामा चोट लागेको छ भने अवस्था खतरामुक्त रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले यस घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

प्रकाशित:
2020/11/05, 6:14
SPA
KN
Priya Gahana Pasal