के गर्दै छन भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपालमा ?

सुदूर प्रेस संवाददाता

नेपालको भ्रमण सिलसिलामा बुधबार काठमाडौं आएका भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणेले जीवित देवी कुमारीको दर्शन गरेका छन्। पहिलो दिन उनले वसन्तपुर परिसर घुम्ने क्रममा कुमारीको दर्शन मात्रै गरेनन्, नेपालमा जीवित देवीको ऐतिहासिक र सांस्कृतिक पक्षका विषयमा जानकारीसमेत लिएका छन्।  

वसन्तपुरमा करिब २५ मिनेट बिताएका भारतका स्थल सेनाध्यक्ष जनरल नरवणेले जीवित देवीको प्रसाद र टीका ग्रहण गर्न पाएर आफू धन्य भएको समेत बताए।  

बिहीबार दिउँसो ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग उनले शिष्टाचार भेटघाट गर्नेछन्।  

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले दिएको जानकारीअनुसार भारतीय सेनाध्यक्षले संसारभरिका हिन्दूले मान्नुपर्ने देवी भएको महसुस गरेको बताएको थिए। ‘उहाँ निकै खुसी हुनुभयो, नेपालको धर्म–संस्कृति र परम्पराका विषयमा जिज्ञासा राख्नुभयो हामीले पनि परम्परा, ऐतिहासिक महत्व र संस्कृतिका विषयमा जानकारी दियौ,’ शाक्यले नागिरकसँग भने।  

उनका अनुसार कोरोना महामारीका कारण ढोका नखोली झ्यालबाटै देवीको दर्शन गराइएको थियो। त्यस क्रममा उनलाई ढाका टोपी लगाउन लगाइएको थियो।

भारतीय वायु सेनाको विशेष विमानबाट बुधबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका उनी सीधै होटल सोल्टी गएका थिए। त्यहाँ केही बेर आराम गरेपछि पत्नी वीणा र भ्रमण दलका सदस्यसहित उनी वसन्तपुर र पशुपतिनाथको दर्शनका लागि निस्केका थिए।  

वसन्तपुरपछि पशुपतिनाथको दर्शन गर्न पुगेका नरवणेले पशुपतिनाथको दर्शन भने गर्न पाएनन्। कोरोना महामारीका कारण  मन्दिर बन्द गरिएकाले उनले पारिपट्टीबाटै पशुपतिनाथ हेरेर चित्त बुझाए। तर पशुपतिमा साँझको आरती भने अवलोकन गर्न पाए। त्यसपछि उनी सोल्टी होटल फर्केका थिए।

उनको भ्रमण क्रममा नेपाली सेना र नेपाल प्रहरी दुवैले सुरक्षा दिएका छन्। 

नेपाली सेनाको महारथीको मानार्थ सम्मान ग्रहण गर्न औपचारिक भ्रमणमा आएका भारतीय सेनाध्यक्ष नरवणे बिहीबार बिहान टुँडिखेलस्थित वीर स्मारक पुग्ने र नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण गर्ने कार्यक्रम छ।  

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार जंगी अड्डा निरीक्षणपछि उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै नेपाली सेनाका उच्च अधिकारीसँग भेटघाट गर्ने र त्यसपछि भारतीय सेनाका तर्फबाट नरवणेले नेपाली सेनालाई चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ।  

साथै नेपालस्थित भारतीय दूतावासमा जाने कार्यक्रम छ। त्यसैगरी बिहीबार दिउँसो ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग उनले शिष्टाचार भेटघाट गर्नेछन्।  

यसैगरी शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ।  त्यसपछि सोही दिउँसो रक्षामन्त्रीसमेतको जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेले भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।  

प्रकाशित:
2020/11/05, 6:32
SPA
KN
Priya Gahana Pasal