कञ्चनपुरमा दोहोरो नागरिकता लिन खोज्ने युवक पक्राउ

pakrau
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर – प्रहरीमा भर्ती हुन जन्म मिति घटाएर दोहोरो नागरिकता लिन खोजेको आरोपमा कञ्चनपुरमा एक जना युवक पक्राउ परेका छन् । नाम र जन्म मिति परिवर्तन गरेर दोहोरो नागरिकता लिन खोजेका महाकाली नगरपालिका ७ का गोविन्द सुनारलाई प्रशासन कार्यालयले शुक्रवार पक्राउ गरेको हो ।

सुनारले यसअघि २०७२ सालमा २०५४ फागुन २० गतेको जन्म मिति राखेर गोविन्द सुनारको नामबाट नागरिकता लिएका थिए । प्रहरीमा भर्ती हुन शुक्रवार दोस्रो पटक नागरिकता लिन प्रशासन पुगेका उनले जन्म मिति २०५८ साल माघ २ गते राखेर गोविन सुनारको नामबाट दोहोरो नागरिकता लिन खोजेको भेटिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । 

 सुनारले नागरिकताका लागि ल्याएको सिफारिस र पुरानो अभिलेखमा समेत बुवाको नाम वीरबहादुर सुनार र आमाको नाम होमावती सुनार रहेको छ । 

नागरिकता दिनका लागि सुनारको डाटा कम्प्युटरमा राख्दा दोहोरो देखिएको र सोधपुछ गर्दा ढाँटेको शङ्का लागेपछि पुरानो अभिलेखमा हेर्दा दोहोरो देखिएको प्रजिअ महतोले बताए ।  

पक्राउ परेको सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र उनीमाथि आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/06, 7:18