अमेरिकाको जर्जियामा फेरि मतगणना हुने : पाँचमध्ये चार राज्यमा बाइडेनको अग्रता

us election
Photo–BBC

एजेन्सी–अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ । जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने घोषणा गर्नुभएको हो । जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गर्नुभएको छ । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ ।

जर्जियाको कानुनअनुसार कुल मतको ० दशमलव ५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ । त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो मत परिणामअनुसार मतगणना भइरहेका पाँचमध्ये चार राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले मतान्तर बढाउँदै लैजानुभएको छ । नेभाडा र एरिजोनामा जो बाइडेन फराकिलो मतान्तरमा हुनुहुन्छ ।

नेभाडामा उहाँ २१ हजारको मतान्तरका साथ अगाडि हुनुहुन्छ भने एरिजोनामा ४३ हजारभन्दा बढी मतका साथ अगाडि हुनुहुन्छ । नर्थ क्यारोलाइनामा भने सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि हुनुहुन्छ ।

राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको हो । अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्रेटिक पार्टीका बाइडेन प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेसम्म बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

प्रकाशित:
2020/11/07, 6:49