गौचरन बन्यो धनगढीको फाप्ला मैदान (तस्बिर सहित)

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने प्रदेश सरकारको घोषणा कागजमै सीमित
fapla
धनगढीको फाप्ला मैदान । तस्बिरः–महेन्द्र बम
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्ला लाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ भने अर्कातिर फाप्ला मैदान  गौचरनमा परिणत भएको छ । 

फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता गराइँदै आएको धनगढीको फाप्लामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा गरेपछि स्थानीय खुसी भएका थिए । सरकारले घोषणा मात्र गरेन, गौरवको आयोजनामा राखी बजेट समेत छुट्ट्यायो। तर काम  भने हुन सकेको छैन । जग्गा प्राप्ति लगायत प्रक्रिया अगाडि बढाइएकै छैन । धनगढी–३ का वडा अध्यक्ष बल बहादुर ऐरले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भयो भनेर खुसी भएका स्थानीयमा निराशा छाएको बताए । सरकारले निर्माणमा तदारुकता नदेखाउँदा मैदान गौचरमा परिणत भएको उनको भनाइ छ । 

धनगढी क्रिकेट एकेडेमीले आफ्नै खर्चमा फाप्ला मैदानको स्तरोन्नति  गरी दुई पटक फ्रेन्चाइजी  लिग गरेको थियो । मैदानमा लगानी गर्न सरकारलाई नैतिक दबाब दिनु पनि एकेडेमीको उद्देश्य थियो ।  प्रदेश सरकारले गौरवको आयोजनामा राखे पनि कुनै काम अगाडि नबढेकाले फाप्ला अहिले गौचरमा परिणत भएको छ  । फाप्लालाइ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन अहोरात्र लागी परेका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेर महत्त्वपूर्ण निर्णय गरेको भए पनि त्यसपछि बेवास्ता गरिएको बताए । टिम गठन गरेर यसको निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउनु पर्नेमा प्रदेश सरकार चुप लागेर बसेको उनको गुनासो छ । 

फाप्ला मैदान रहेको जग्गालाई लिएर विवाद भएकाले काम अगाडि बढाउन समस्या भएको प्रदेश सरकारको भनाइ छ । सुरुमा सामुदायिक वनको भनेर  विवाद भए पनि जग्गा सरकारी भएको स्पष्ट भइसकेको छ तर निर्माणका लागी कसैले पनि अग्रसरता देखाएको छैन । 

दुई वर्षमा रङ्गशाला निर्माणका लागि छुटाइएको ५ करोडभन्दा बढी बजेट फ्रिज भइसकेको छ । चालू आर्थिक वर्ष एक करोड मात्र छुट्टाइएको छ । एकातिर बजेट घटाइनु र अर्कातिर कामै सुरु नहुनुले अन्तराष्ट्रियस्तरको रङ्गशाला बनाउने प्रदेश सरकारको गौरवको आयोजना कागजमै सीमित हुने त होइन भन्ने प्रश्न उठाउन थालिएको छ ।

 

प्रकाशित:
2020/11/07, 8:31