ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

बीबीसी नेपाली

एजेन्सी–अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् । 

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।


अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।

राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित:
2020/11/08, 6:33