धनगढीमा प्रहरी हत्या पछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ

पन्ध्र सय बढी प्रहरी परिचालन
security
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको सीमा क्षेत्रमामा खटिएका दुई सुरक्षाकर्मीको हत्यापछि सुदूरपश्चिम प्रहरीले नाकाको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाएको छ । उत्तर पश्चिममापर्ने दार्चुलादेखि कैलालीसम्मका प्रहरी युनिटमा जनशक्ति थपिएको छ भने विशेष परिस्थितिमा हुने गस्ती र पेट्रोलिङमा सशस्त्र प्रहरी तथा काउन्टर पार्टसँगको समन्वयलाई पनि बढाइने भएको छ । 

गत कार्तिक १ गते राति धनगढीको घुइयाघाटमा गस्तीमा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको तस्करहरूले बीभत्स हत्या गरे । हत्या हुँदा सीमाको पहिलो घेरामा खटिएको सशस्त्र प्रहरीले सुइँकोसम्म पाएन । दुई सुरक्षा संयन्त्रबीचसमन्वय अभाव देखिएपछि अहिले सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि विरुद्ध विशेष सावधानी अपनाउँदै कडाइ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । 

सुदूरपश्चिमको दार्चुला,बैतडी,डडेलधुरा, कैलाली र कञ्चनपुरको करिब ४ सय ८६ किलोमिटर भू–भाग भारतसँग सीमा जोडिएको छ । यी क्षेत्रमा नेपाल प्रहरीका ४० वटा प्रहरी इकाई छन् ।  जहाँ ५ सय ३३ जना सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै सशस्त्र प्रहरीका ४१ बिओपीमा १ हजार ३५ प्रहरी खटाइएको छ । नाकामा खटिएका प्रहरीसँग पर्याप्त बन्दोबस्तीका सामान छैनन् । अधिकांश प्रहरी त्रिपालमुनि छन् । आफै स्रोत साधन र पूर्वाधार अभाव झेलिरहेका सुरक्षा निकायलाई अन्तर्देशीय सङ्गठित अपराधदेखि लागू औषध, मानव तस्करी तथा सीमा क्षेत्रमा हुने गैर कानुनी गतिविधि रोक्न चुनौती छ वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने त्यसका बाबजुद पनि हामी सक्रिय रूपमा सीमामा खटिएका छौँ । 

नेपाल–भारत सीमा नाका पुरै खुला छ । पहाडी जिल्लामा अझ भौगोलिक कठिनाइका कारण सबै ठाउँमा सुरक्षा तैनाथी छैन । अधिकांश आपराधिक घटना रोकथाम तथा नियन्त्रणका लागी सबै भन्दा ठुलो चुनौती खुला सीमा हो । तसर्थ, सुरक्षामा खटिएका प्रहरीलाई व्यवस्थित बनाउन सके मात्रै सीमा नाकामा हुने अपराध नियन्त्रण हुने सुरक्षा अधिकारीको ठम्याइ छ । 

 

प्रकाशित:
2020/11/08, 12:21