कैलालीमा प्रहरी हत्या पछि पनि केराउ तस्कर सक्रिय, भारत तस्करी गर्न लागिएको पन्ध्र क्विन्टल केराउ नाकाबाट बरामद 

taskari
सुदूर प्रेस संवाददाता

धनगढी–केराउ तस्करले दुइजना प्रहरीको हत्या गरेको तिन हप्ता पछि कैलालीमा ठुलो परिमाणमा भारत तस्करी गर्न लागिएको केराउ प्रहरीले बरामद गरेको छ । गए राती करिब ८ बजे टिकापुर नगरपालिका–९ मा पर्ने खक्रौला स्थित पुरानो भन्सार नजिक बाट ६० वटा कट्टामा राखिएको पन्ध्र क्विन्टल  केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।  खक्रौला पुरानो भन्सार नजिक अवैध मालसामान लुकाई छिपाई राखी भारत तर्फ चोरी पैठारी हुन लागेको भन्ने सूचनाको आधारमा प्रहरी  चौकी कालाकुण्डा बाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त केराउ बरामद गरेको उनले जानकारी दिए । 

१ लाख बाह्र हजार ५ सय मूल्य बराबरको अवैध केराउ आज भन्सार कार्यालय सत्तिमा पठाइएको प्रहरीले जनाएको छ । यति ठुलो केराउ बरामद भए पनि तस्कर समात्न भने प्रहरी असफल भएको छ । 

गत कार्तिक १ गते राति धनगढीको घुइयाघाटमा गस्तीमा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको केराउ तस्करहरूले बीभत्स हत्या गरेका थिए ।  हत्यामा संलग्न ८ जना र केराउ तस्करी गर्न लगाउने १ जना गरी ९ जनालाई प्रहरीले पक्राउ गरी सकेको छ । 

 

प्रकाशित:
2020/11/08, 7:13