कञ्चनपुरमा प्रहरी भन्दै जुवाखाल लुट्ने तीन जना पक्राउ

kanchanpur
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा जुवाको खालबाट रकम लुटपाट गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

प्रहरीको ब्युरोबाट आएको भन्दै तीनै जनाले पाँच दिनअघि जुवाखालबाट तीन लाख नगदसहित मोबाइल लुटपाट गरेका थिए। प्रहरीमा उजुरी आएपछि तीनै जना पक्राउ परेका हुन्। लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका सार्वजनिक गरिएकामा  बेदकाट नगरपालिका–१ का केदार विष्ट २ का पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का दीपक भट्ट छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले प्रहरी कार्यालयमा उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको बताए। पक्राउ परेकामध्ये केदार विष्टको घरबाट अत्याधुनिक पेस्तोलसमेत बरामद गरिएको छ। लोड गरिएको गोली सहितको म्याग्जिन कार्तिक २० गते खेतमा भेटिएको थियो। प्रहरीका अनुसार उनीहरुले त्यही पेस्तोल देखाएर लुटपाट गरेका थिए।

प्रहरीले लुटपाटमा संलग्न अन्यको खोजी गरिरहेको छ। लुटपाट समूहको नाइके सहित फरार सबैको खोजी गरिएको प्रहरी उपरीक्षक मरासिनीले बताए। ‘यसमा संलग्न मुख्य व्यक्ति अझै फरार छ, यसमा ७÷८ जना संलग्न छन’ उनले भने। 

योजना बनाएर लुटपाट गरिएको प्रहरीको आशंका छ। मध्यरातमा हतियार सहित आएका समूहले लुटपाट गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले लुटपाटमा प्रयोग गरेको दुई मोटरसाइकलसहित चार ओटा मोबाइलसमेत बरामद गरेको छ। प्रहरीले उनीहरुमाथि डाँका चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मरासिनीले बताए।

प्रकाशित:
2020/11/09, 5:22