विभिन्न देशबाट जाडो छल्न ८० प्रतिशत चराहरु नेपाल आए

Bird
तस्बिर–अविनाश चौधरीको फेसबुक बाट ।
सुदूर प्रेस संवाददाता

काठमाण्डौ - जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् । जाडो छल्न नेपाल आउने १ सय ५० प्रजातिका चरामध्ये यो वर्षको हिउँद सुरु भएपछि ८० प्रतिशत नेपाल आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट चराहरु जाडो छल्न नेपाल आउने गरेका उहाँले बताउनुभयो । 

जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका उहाँले बताउनुभयो । असोजमा आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने उहाँले जानकारी दिनुभयो ।

कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । कतिपय हाँस प्रजातिका चराहरु  कतै पनि नरोकिइकन नेपाल आउने गरेका छन् भने कतिपय चराहरु बिस्तारै बिस्तारै एक देशबाट अर्को देशमा हुँदै आउने गर्छन् ।

प्रकाशित:
2020/11/11, 9:20