अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय,खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति

विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने
Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाडौँ — सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन अनुमति दिएको हो ।

यस्तै मैत्रीपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार समेमलनमा जानकारी दिएका हुन् ।

यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले कोरोना संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको उनले बताए । तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।

यसैगरी, विदेशमा अलपत्र नागरिकको हकमा अब उद्धार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए ।

मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंछी विकासमन्त्रीसहितको समितिले अध्ययन गर्ने भएको छ । बंग्लादेशबाट 'जीटुजी' माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्युतीय सरकारी लेखा प्रणाली र संघ र र प्रदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्रणाली लागू गर्ने निर्णय पनि भएको उनले बताए ।

यसैगरी, बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । किजा पूजाको अवसरमा मंसिर २ गते सर्वाजनिक बिदा दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

प्रकाशित:
2020/11/12, 6:44