बैतडी बस दुर्घटनाः जीवनसाथी 'एक्लै पारेर' सधैंलाई अस्ताए

शोकमा डुब्यो दोगडाकेदार
BUS accident
सुदूर प्रेस संवाददाता

बैतडी–जीवनभर सुखदु:ख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी छुट्टिनुपर्छ भनेर कसैले कल्पना पनि गरेको हुँदैन। तर दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ९ जनाको ज्यान गयो। त्यसमध्ये ३ जोडी कहिल्यै नदेखिने गरी सधैँका लागि छुट्टिए। उनीहरू सँगै यात्रारत थिए। 

दुर्घटनामा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कवीन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरीको बस दुर्घटनामा निधन भयो। ​

जोशीले आफ्नी जीवन साथी विमला, रनबहादुरले दीपा र करनले विमलालाई सधैँका लागि छोडे। दीपा भने डडेलधुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् भने दुवै विमला अहिले पनि उपचारमा छन्। 

दोगडाकेदार शोकमा डुब्यो 

उक्त दुर्घटनाले दोगडाकेदार शोकमा डुबेको छ। दुर्घटनामा ९ जनाको मृत्यु भयो भने ३४ जना घाइते भएका छन्। जसमा बैतडीका ३, दार्चुला, कञ्चनपुर र कैलालीका २/२ जनाको मृत्यु भयो।

बैतडीका मृत्यु हुने सबै ३ जना एउटै गाउँका हुन्। यस्तै एकै गाउँका ७ जना घाइते पनि भएका छन्। उनीहरू तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन्।

मृत्यु हुने तीनै जना २५ देखि ३० वर्षमुनिका युवा हुन्। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकाका कार्यरत आन्तरिक लेखा परीक्षक कवीन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी छन्। 

तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए। तर उनीहरू घाइते अवस्थामा बाँचेका छन्। गाउँपालिकाका ३ जनाको मृत्यु र ७ जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको जनाएका छन्। 

दोगडाकेदार–६ शोकमग्न भएको वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले बताए। उनले भने, ‘तिहारको बेला खुसीयाली हैन गाउँ नै शोकमा डुबेको छ,’ उनले भने, ‘अन्त्यतै दर्दनाक घटना भयो, गाउँमा सन्नाटा छाएको छ।'

तराई जानका लागि बसमा चढेका थिए उनीहरू। 

दुर्घटनामा मृत्यु भएका कवीन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए। एक वर्षअघि मात्रै लोकसेवा आयोगको परीक्षा पास गरेका थिए कवीन्द्रले। 

‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ। कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा बज्रपात भएको छ,’ कवीन्द्रका आफन्त हेमराज जोशीले भने ‘एक वर्षअघि मात्रै सरकारी जागिरमा लागेको थियो। हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ। दैवले दिएको चोट सहनुको विकल्प छैन।’

दोगडाकेदार–६ कै रणबहादुर पनि बिहीबार भएकै बस दुर्घटनामा बिलाए। श्रीमतीसहित उनी पनि तराई जाँदै थिए। ​ऐरीको मृत्युले मर्माहत बनाएको उनका साथी भुवन कार्कीले बताए। श्रीमती र छोरासहित भाइटिकाका लागि बेलौरी हिँडेका करन बिच बाटोमै बिलाए। 

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवन दूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको छ। साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोच लेकका वीरेन्द्र कार्की पनि घाइते भएका थिए। दुर्घटनाको कारण खुल्न नसकेको  बैतडी प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

 

प्रकाशित:
2020/11/14, 5:35