सुदूरपश्चिममा तीन वर्षमा ८८५ दुर्घटना: ५९४ जनाको मृत्यु, ९५९ गम्भीर घाइते

Accident
बिहीबार राती बैतडीमा भएको बस दुर्घटनाको तस्बिर, यो दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।
सुदूर प्रेस संवाददाता

धनगढी–पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक सय ७५ सवारी दुर्घटना भएका छन् । जसमा ६२ जनाले ज्यान गुमाएका छन् । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर मोहनबहादुर साउदका अनुसार आव ०७६/७७ भएका दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाको ज्यान गएको छ भने दुई सय ५४ गम्भीर घाइते भएका छन् । त्यस्तै, आव ०७५/७६ मा दुई सय ३४ दुर्घटना भएका छन् । जसमा दुई सय २३ जनाको मृत्यु भएको छ भने एक सय ८७ गम्भीर घाइते भएका थिए । आव ०७४/७५ प्रदेशभर भएका एक सय ६४ दुर्घटनामा एक सय ६६ को ज्यान जानुका साथै एक सय ३३ गम्भीर घाइते भएका थिए । 

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने, यान्त्रिक गडबडी, सडकको दुरावस्थालगायत कारणले पहाडी जिल्लामा बढी दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए । ‘पहाडी जिल्लामा सडक साँघुरा छन् । कतिपय ठाउँमा एक लेनको सडक छ । विपरीत दिशाबाट आइरहेका दुई गाडीको मोडहरूमा जम्काभेट हुँदा पनि दुर्घटना हुने गरेको पाइन्छ,’ उनले भने ।नयाँ पत्रिकाबाट

 

प्रकाशित:
2020/11/14, 7:21