डडेल्धुरा–डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
अत्यधिक मदिरा सेवन गरेर उनले हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा श्रीमानले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरेको उनले बताए ।
शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।