सुदूरपश्चिममा कोरोनाबाट निको हुनेको सङ्ख्या ९ हजार नाघ्यो

आइतबार ९० जना डिस्चार्ज

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ हजार नाघेको छ ।

सामाजिक विकास मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ९०  जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिममा योसँगै निको हुनेको ९ हजार ४७ पुगेको छ । आइतबार कैलालीबाट मात्रै ८० जना बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै कञ्चनपुरबाट ६ जना र बैतडीबाट ४ जना गरी ९० जना बिरामी घर फर्किएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

निको हुनेका सङ्ख्या बढेपछि अस्पतालमा बेड अभावको समस्या पनि तत्काल लाई टरेको उनले बताए ।

अहिले प्रदेश भरीका अस्पतालमा ६९ जना कोभिडका बिरामी मात्रै उपचाररत रहेको उनले बताए ।

बिरामीले भरिभराउ भएको धनगढीको कोरोना अस्पतालमा पनि जम्मा ३४ जना बिरामी मात्रै छन् ।

त्यस्तै टिकापुरमा १६,महाकालीमा ३,अछाम जिल्ला अस्पतालमा १०,डोटीमा २,डडेलधुरामा ३ र दार्चुला अस्पतालमा १ जना बिरामी उपचाररत रहेको कार्कीले जानकारी दिए ।

उनीहरू मध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ । प्रदेशमा आइतबार ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

उनिहरु मध्ये कैलालीका ४१, कञ्चनपुरका ३, डडेलधुराका ७, दार्चुलाका १ र डोटीका ३ जना रहेका छन् । हाल सम्म यो प्रेदेशमा १० हजार ८ सय १७ जना लाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनिहरु मध्ये ९ हजार ४७ जना निको भइसके । 

प्रदेशमा अब १७ सय ३४ जना सक्रिय सङ्क्रमित छन् । हाल सम्म सुदूरपश्चिममा कोरोना बाट ३६ जनाको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । 

 

 

प्रकाशित:
2020/11/23, 6:13