धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको स्वरुप परिवर्तन गरिने  

सुदूर प्रेस संवाददाता

धनगढी–लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका यस वर्ष धनगढीमा फरक तरिकाले मनाइने भएको छ । मङ्गलवार धनगढी उप–महानगरपालिकाले सामाजिक सङ्घसंस्थाहरू सँग छलफल गर्दै कोरोना कहरका कारण अन्य वर्षको जस्ता भिड जम्मा गरेर कार्यक्रम आयोजना गर्न नसकिने भएकाले कार्यक्रमहरूको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो ।  धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला भट्टले धनगढी उप–महानगरपालिकाका क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधीहरुलाई बोलाएर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई कसरी सफल बनाउने भन्नेमा छलफल गरिएको बताइन । ‘सबैले आफ्ना कार्यक्रमहरू प्रस्तुत गरे उप–प्रमुख भट्टले भनिन्,‘सबैका कार्यक्रमहरूलाई कसरी एकीकृत रूपमा लैजाने भन्ने बारेमा छलफल भएको छ ।’ सबैका कार्यक्रमहरू समावेश हुने गरी कार्यक्रमहरूको १६ दिनका लागि योजना बनाउने जिम्मा उप–महानगरपालिकालाई दिइएको छ ।

त्यसै गरी धनगढी उप–महानगरपालिकाले बुधवार ११ बजे उप–महानगरपालिकाको परिसरमा जनप्रतिनिधि, कर्मचारी र अन्य सहभागीहरूलाई सेतो रिबनको लैङ्गिक हिंसा विरुद्धको लागो पहिराएर अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उप–प्रमुख भट्टले बताइन । यसको अगुवाइ उप–महानगरपालिकाको महिला शाखाले गर्ने छ । त्यस पश्चात् उप–महानगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई लैङ्गिक हिंसा न्यूनीकरणका लागि सकारात्मक सोच सम्बन्धी तालिममा सहभागी गराइने छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले लैङ्गिक हिंसा विरुद्धको अभियान सबै वडामा पुग्ने गरी कार्यक्रम तय गरिने बताए । उनले भने, सबै सम्म सन्देश पुगोस् भनेर रेडियो जिंगल, रेडियो बाट प्रत्यक्ष प्रसारणका कार्यक्रमहरू बनाउन छलफलमा सुझाव दिइयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर १० गते देखि २५ गते सम्म चल्ने छ । यस वर्ष नेपाल सरकारको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ रहेको छ ।            

 

प्रकाशित:
2020/11/24, 8:50