बेवारिसे शव जलाउने १८ वर्षीया सपना नेपालबाट बिबिसीको प्रभावशाली महिलाको सूचीमा

को हुन् सपना ?
सुदूर प्रेस संवाददाता

काठमाडौँ–म्याग्दीकी वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।

बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। 

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्। 

को हुन् सपना?

सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्।


एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो, जसरी उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरी थियो।

उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं।

हामी पुग्दा उनी हातमा पञ्जा लगाइरहेकी थिइन्। छेउकै स्ट्रेचरमा एक युवतीको शव थियो। कामदारहरूले चितामा काठ राखुञ्जेल उनी छेउमा बसिन्। शव जलाउन तयार भएपछि सपना घाटबाट बागमती झरिन्। त्यसपछि दाहसंस्कारको विधि सुरू गरिन्। दागबत्ती दिइन्।

त्यो शव उनका कुनै आफन्तको थिएन। बेवारिसे थियो। उनले अहिलेसम्म यस्ता ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छन्।

ncell in
घरबाट पढ्न हिँडेकी उनले कहाँ सोचेकी थिइन् र यसरी अपरिचितका शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ भेटाउँला भनेर!

२०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट राम्रै ग्रेड ल्याएर एसइई पास गरेकी थिइन् सपनाले। पुल्पुलिएकी कान्छी छोरीलाई चाहिएका सबथोक आमाबाले पुर्‍याइदिन्थे। पढाइ राम्रो थियो, त्यसैले उनी सहर गएर पढ्न चाहन्थिन्।

घरबाट बेनी बजार टाढा थियो। तै पनि आमाबाले उनलाई एक्लै पठाए।

गाउँजस्तो थिएन बजार। उनी भने उस्तै फरासिली थिइन्। धेरै साथी बनाइन्। साथीहरूले उनलाई आफ्ना दु:ख देखाउँथे। उनी साथीहरूका दु:ख कम गर्ने कोशिस गर्थिन्।

'साथीहरूले केही दु:ख परे मलाई भन्थे। म घरबाट दिएको पैसा पनि उनीहरूलाई दिन्थेँ,' उनले भनिन्, 'घरमा ढाँटेर साथीहरूलाई मद्दत गर्थें।'

तिनै साथीहरूको लहैलहैमा उनको जिन्दगी कलेज-घरको सिधा बाटो छाडेर अर्कै बाटो हिँड्न थाल्यो।

त्यो समयलाई उनले यसरी सम्झन्छिन्, 'सहरको रंगीन दुनियाँमा म फसिसकेकी थिएँ। जोशमा होस गुमाएर हराएकी थिएँ। गलत के हो, सही के हो छुट्टयाउन गाह्रो हुने दुनियाँ थियो मेरो।'

यसैबीच उनको एक युवकसँग सम्बन्ध गाँसियो। त्यही सम्बन्धको फेरोमा उनका संघर्षका दिन सुरू भए।

कक्षा ११ को परीक्षा दिएपछि उनी पढाइ छाडेर तिनै युवकसँग भागेर बुटवल आइन्। आमाबासँग राम्ररी कुरा हुन पाएन। उनले आफ्ना कुरा बुझाउन सकिनन्, उनीहरूले पनि छोरीका कुरा बुझ्न सकेनन्। गाउँलेले नै कथा बुनेर सुनाउन थाले- तिम्री छोरी बिग्री।

बुटवल आएपछि ती युवकसँग उनको सम्बन्ध राम्रो हुन सकेन। त्यही रनाहामा बल्ल उनले पछि फर्केर हेरिन्। कहाँबाट गल्ती हुन सुरू भयो थाहा पाइन्।

उनी फर्केर म्याग्दी जान सक्दैनथिन्। पश्चातापले भारीले उनलाई थिचेको थियो। त्यो भारी टाउकाबाट निकालेर हलुङ्गो बनाइदिने आमाबाको अगाडि पर्ने आँट पनि उनमा थिएन। त्यसमाथि समाजले लगाउने लाञ्छना मुटुमा तीरझैं रोपिन्थ्यो। उनी दिनदिनै कमजोर हुँदै थिइन्। समाजबाट बहिष्कृत भएँ भन्ने पीडाले आत्तिएकी पनि थिइन्।

एकदिन ती युवकसँग उनी छुट्टिइन्। जाने ठाउँ नहुनेहरूको बास आखिर सडक नै हो, उनी पनि सडकमा पुगिन्।

'ती दिनहरू धेरै कठिन थिए,' उनले सम्झिइन्, 'बाटोमा बस्ने बालबालिकाहरूसँगै बस्थेँ। त्यहाँ बसिरहँदा सडकमा हिँडिरहेका कोही मान्छे आएर बोलिदिओस् जस्तो लाग्थ्यो।'

उनको बास खुला सडकमा थियो, तर उनलाई आफ्ना लागि सम्पूर्ण बाटा बन्द भएजस्तो लाग्थ्यो।

एकदिन उनलाई मरिदिउँजस्तो लाग्यो। त्यो दिन आफ्नो मन बुझाउन उनलाई निकै सकस परेको थियो। अँध्यारो कथाजस्तो जिन्दगीको त्यो पाना पल्टाउन निकै हम्मे पर्‍यो। तर पल्टियो र जुट्यो हिम्मत।

सकडबाट उठेर उनी म्याग्दी फर्किइन्।

उनी आमाबाले अस्वीकार गर्छन् कि भनेर डराएकी थिइन्। तर आमाबाको मन न हो। उनले गाली मात्रै खाइन्।

घरमा बसेको केही समयमै उनलाई दिदी-दाइझैं विदेश जान मन लाग्यो। त्योभन्दा पहिले त रोकिएको आफ्नो पढाइ सकाउनु थियो। आमाबालाई मनाएर फेरि पोखरा आइन्। त्यहाँको ग्यालेक्सी कलेजबाट १२ कक्षा पास गरिन्।

जापानिज भाषा सिकेर उड्ने उनको विचार थियो। तर जिन्दगीले फेरि बाटो मोड्यो। उनी आमाको सल्लाह मानेर सात महिनाअघि काठमाडौं आइन्। नयाँ सहर, नयाँ सपना!

काठमाडौं आएको दुई महिनापछि सलिनाका बाबा विनयजंगसँग उनको भेट भयो। सलिनालाई उनले पोखरामै चिनेकी थिइन्। उनीहरूको पारिवारिक सम्बन्ध थियो।

सपना पनि महालक्ष्मी नगरपालिकास्थित चाङ्गाथलीमा रहेको विनयजंगको घरमा बस्न थालिन्। उनी विनयलाई बुवा मान्छिन्। विनयजंग बेवारिसे शव दाहसंस्कार गर्ने व्यक्ति हुन्। उनले छ वर्षदेखि यही काम गर्दै आएका छन्। उनले अहिलेसम्म २ सय ७२ बेवारिसे शव जलाइसकेका छन्।

दाहसंस्कार गरिदिने कोही नभए वा मृतकका आफन्त नभेटिए प्रहरीले विनयजंगलाई पुकार्छन्।

प्रहरीले बोलाउँछन्, पत्र दिन्छन् र शव लिएर उनी पशुपति पुग्छन्।

उनले यस्तो काम गर्न थाल्नुको पनि कारण छ। 'यो काम गर्नुमा मेरा बुवाको हात छ,' उनले भने।

उनका बुवा बेपत्ता भएका रहेछन्। उनीहरूले धेरै खोजे, भेटेनन्। धेरै समयपछि एकदिन महाराजगन्जस्थित टिचिङ अस्पतालमा उनको शव भेटियो।

'धेरै दिनदेखि पहिचान हुन नसकेकाले होला, उहाँलाई बेवारिसे भनेर राखिएको थियो,' विनयले भने, 'बुबाको शवसँगै अरू धेरै बेवारिसे शव थिए।'

बुवाको दाहसंस्कार उनी आफैंले गरे। हिन्दु धर्ममा दाहसंस्कार गरेपछि मुक्ति मिल्छ भन्ने भनाइ छ। ती बेवारिसे शवहरूको मुक्ति कसले दिलाउला भन्ने प्रश्नले उनलाई निकै दिन घेर्‍यो।

'मैले नै ती शवहरूलाई मुक्ति दिलाउनुपर्छ भन्ने लाग्यो,' उनले भने, 'अनि मैले यो काम सुरू गरेँ।'

विनयको यो कथा सपनाले पनि सुनिन्। किन किन उनलाई यो काम आफूले पनि गर्नुपर्छ भन्ने लाग्यो।

'म पनि तपाईंजस्तै काम गर्छु,' सपनाले भनिन्।

'हुँदैन छोरी,' विनयले भनेका थिए, 'तिमी सानै छौ।'

उनको जिद्दको अगाडि विनयको केही लागेन।

'ल हिँड उसो भए,' एकदिन विनयले भने।

त्यो दिन उनीहरू सुरूमा टिचिङ अस्पतालको शवदाह गृह गए।

भित्र छिर्दा भान्छा कोठामा भाडाकुँडा छरिएजस्तै जताततै शव थिए। कसैको शव हेर्न नसकिने अवस्थामा थियो। कतिपयका टाउको थिएन, कतिको हातखुट्टा। प्राय: शवहरू दयनीय अवस्थामा थिए।

'हेर्न नसकेर म बाहिर आएर रून थालेँ,' सपनाले भनिन्।

त्यो दिन एउटी युवतीको शव उनीहरूले पशुपति आर्यघाट लगे। चिताको लाइनमा राखे। अरू शव वरिपरि आफन्त रोइरहेका थिए। उनीहरूले ल्याएको शव भने एक्लै थियो। उसका लागि रूने पनि कोही थिएन। ऊ को थिई? किन र कसरी मरी होला भन्ने कथा पनि ऊसँगै चुपचाप थियो। सबै सम्झेर सपनालाई नरमाइलो लाग्यो।

ती युवती पहिलो थिइन्, जसको दाहसंस्कार सपनाले गरिन्।

'मैले पहिलोपटक दाहसंस्कार गरिरहँदा धेरै कुरा सम्झेकी थिएँ। नरमाइलो लागिरहेको थियो। तर कयौं दिन दाहसंस्कार हुन नसकेर भट्किरहेको आत्मालाई मुक्ति दिएँ भनेर खुसी पनि थिएँ,' उनले भनिन्।

प्रहरीले बेवारिसे शवलाई कम्तिमा ३० देखि ३५ दिनसम्म राख्छ र आफन्त खोज्छ। नभेटाए उनीहरूलाई बोलाउँछ।

‍अहिले सपनालाई शव देखेर डर लाग्दैन। 'अहिले त दिनदिनैजस्तो शवसँग भेट हुन्छ। को हो भन्ने चिनिन्न। सबै बेवारिसे हुन्छ,' उनले भनिन्, 'त्यो लासको भण्डार देखेर पनि होला, अब मलाई डर लाग्दैन।'

डर लाग्न त छाडिसकेको थियो, तर एकदिन उनी अन्जान युवतीको दाहसंस्कार गर्दागर्दै रोइन्। सेतोपाटीबाट

प्रकाशित:
2020/11/24, 9:36