प्रहरीको गोलीले प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा भोलिसम्म निषेधाज्ञा

mahottrai
सुदूर प्रेस संवाददाता

महोत्तरी–प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो।

मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो। उनको तीघ्रामा गोली लागेको थियो।

न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका छन्। थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएको थियो। बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन्।

स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए। भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भोलि बिहानसम्म बर्दिबासमा निषेधाज्ञा लगाइएको  बताए। ‘आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा लगाएका छौं,’ उनले भने, ‘मानिसलाई सडकमा हिँडडुल गर्न रोकिएको छ।’ पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको उनले जानकारी दिए।

बालिका हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ। बलात्कार पछि बालिकाको हत्या भएको स्थानीयको आशंका छ।

प्रकाशित:
2020/11/25, 10:17