बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

trisuli
सुदूर प्रेस संवाददाता

चितवन –प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् ।

एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली नदीमा खसेको थियो ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार भ्यानमा रहेकामध्ये प्यूठानका मुकुन्दबहादुर रोक्का नदीबाट पौडी खेलेर बाहिर आएका छन् । चालकसहित अन्य तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुने चालकमा प्यूठान झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी रहेका छन् । नदीबाट बाहिर निस्केका मुकुन्दकी ३३ वर्षीया जमुना र १५ वर्षीया छोरी जिनिसा पनि बेपत्ता छन् ।

जिनिसा बिरामी भएका कारण उपचारका लागि काठमाडौं जाँदै गर्दा उक्त दुर्घटना भएको हो । पौडेर बाहिर आएका मुकुन्दको अवस्था मध्यम छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी सूर्य थापाले जानकारी दिए । नदीमा खसेको पिकअप भ्यान पूरै डुबेको छ ।

बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताए ।

प्रकाशित:
2020/11/26, 8:57