इप्रका मालाखेतीमा डीएसपी प्रेम शाहीलाई पठाइयो

prem
सुदूर प्रेस संवाददाता

धनगढी–प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीको काज सरुवा गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत डीएसपी शाहीलाई मालाखेतीको काज सरुवा भएको हो ।

यसअघि इप्रका मालाखेतीमा कार्यरत डीएसपी भरत चौधरी १० गते रातिदेखि ड्युटीको समयमा सम्र्पकविहीन भएका थिए । करिब १२ घण्टा सम्पर्कविहीन भएका डीएसपी चौधरी ११ गते बिहान बुढीतोलाको एक होटलमा भेटिएका थिए ।

सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालयले ड्युटीको समयमा सम्पर्कविहीन भएको भन्दै कारबाहीको लागि डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानेको थियो ।

घटनासम्बन्धी छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसपीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले चौधरीलाई निलम्बनका लागि प्रधान कार्यालयमा सिफारिस समेत गरेको छ ।

प्रकाशित:
2020/11/27, 3:39