भारत जाने नेपालीबाट लाखौँ रुपैंया ठगेर अलपत्र पार्ने चार जना विरुद्ध सार्वजनिक मुद्दा दायर

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–भारत जाने नेपालीबाट लाखौँ रुपैंया ठगी गरी अलपत्र पार्ने चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।

सोमबार भारत जान लागेका १३० जना नेपालीबाट १० लाख भन्दा बढी रकम असुलेर फरार भएका धनगढीमा रहेको बर्दादेवी र्टुस एण्ड ट्राभल्सका चार जना पदाधिकारी लाई सार्वजनिक मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

धनगढी बसपार्कमा रहेको उक्त ट्राभल्सका अध्यक्ष रमेश बिक,उपाध्यक्ष खेम जोगी,रुद्र आग्री र अर्जुन जयगढी माथि अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको उनले बताए ।

ट्राभल्स रहेको अछाम नेशनल गेष्ट हाउसका सञ्चालक लाई भने प्रहरीले छोडेको छ । बर्दादेवी ट्राभल्सले सीमा पारी भारतका विभिन्न स्थानमा जाने बस पाइने भन्दै धनगढी बजारमै रहेको आफ्नो काउन्टरमा टिकट काटेको थियो ।

तर, यता पैसा तिरेर पारी गएका नेपालीले टिकट लिएअनुसार सवारी नपाएपछि ठगीको रहस्य खुलेको हो । 

प्रकाशित:
2020/12/02, 5:46