९५ वर्षीय पूर्व गृहमन्त्री नैनबहादुर स्वाँरले जिते कोरोना

सुदूर प्रेस संवाददाता

धनगढी–अछाम निबासी पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्। थापथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका स्वाँर कोरोना संक्रमणमुक्त भएपछि बुधबार डिस्चार्ज भएका हुन्। 

कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको कात्तिक १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। 

नर्भिकबाट बुधबार डिस्चार्ज भएपछि खुसी साट्दै उनका छोरा विजयले भने, ‘अस्पतालको प्रयास, चिकित्सक र स्वास्थ्यकर्मीको अथक मिहेनत र बुबाको आत्मबलले गर्दा संक्रमण जित्न सफल हुनु भयो।’ 

गम्भीर अवस्थामा पुगेका बुबालाई भेन्टिलेटरमा राखेको समयमा भने निकै डर लागेको सुनाए। ‘बुबाको अवस्था गम्भीर भएर भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि हामी निकै डराएका थियौँ। डाक्टरहरूले निको हुन्छ भनेर हौसला बढाउनु भयो। त्यसपछि हामीलाई आशा पलाएको थियो,’ विजयले बुबालाई भेन्टिलेटरमा राखेर उपचार गराउँदाको अनुभव साटे।

बुबाको आत्मबल बलियो भएकाले कोरोनालाई जित्न सफल भएको विजयले बताए। ‘यो रोग जित्न सबैभन्दा पहिले आत्मबल बलियो हुनुपर्ने रहेछ। बुबाको आत्मबल बलियो छ। सबैको साथ-सहयोग र अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीको हौसलाले उहाँले ‍कोरोना जित्न सफल हुनुभयो।’

पूर्वगृहमन्त्रीसमेत रहेका स्वाँरलाई दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक १२ गते शरीरमा अक्सिजनको मात्रा काम भएको थियो। परिवारले उनलाई तत्कालै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेको थियो। त्यहाँ जाँच गर्दा मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहक कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छोरा विजयले स्वास्थ्यखबरलाई जानकारी दिए। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले कात्तिक १३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। १६ गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सुरुमा परिवारका सदस्य आत्तिएका थिए। 'उहाँको उमेर र संक्रमणका कारण स्वाँर परिवारका सदस्य डराउनु भएको थियो,' उपचारमा संलग्न अस्पतालका एक चिकित्सकले भने। 

मनमोहनमा १२ दिन राखेर उपचार गरेपछि स्वाँरको स्वास्थ्यमा सुधार आएको थियो। त्यसपछि होम आइसोलेसनमा राख्ने भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो। 

‘बुबालाई घर लैजानुभन्दा पहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। सो क्रममा परिवारका अन्य सबैको रिपोर्ट नेगेटिभ आएपछि बुबालाई होम आइसोलेसनमा राख्ने गरी त्यहाँबाट डिस्चार्ज गरिएको हो,’ विजयले भने।

अस्पतालबाट घर ल्याएपछि स्वाँरको अवस्था झन् कमजोर बन्दै गयो। खानासमेत खान छाडेपछि परिवारका सदस्यले लक्ष्मीपूजाको भोलिपल्ट उनको शरीरबाट अक्सिजनको मात्रा घट्नुका साथै रक्तचापसमेत कम हुँदै गयो। त्यसपछि परिवारले नर्भिक अस्पताल लगेका थिए। 

अस्पतालले स्वाँरको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएकोले तुरुन्त भेन्टिलेटरमा राखेर उपचार गर्ने सुझाव दियो। त्यो समयमा पुनः पिसिआर परीक्षण गर्दा पनि स्वाँरको कोरोना पोजेटिभ नै आएको थियो।

भेन्टिलेटरमा उपचार सुरु भएपछि स्वाँरको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो। अक्सिजनको मात्रा बढेर ८० भन्दामाथि पुगेपछि भेन्टिलेटरबाट सिसियूमा सारिएको थियो।

सिसियूमा एक हप्ता राखेपछि अक्सिजनको मात्रा र रक्तचाप नियन्त्रणमा आयो। त्यसपछि पनि उनलाई चिकित्सकले विशेष निगरानीमा थप उपचार प्रक्रिया अगाडि बढाएका थिए। उनको अवस्थामा सुधार आएपछि पुनः पिसिआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि र स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधबार दिउँसो डिस्चार्ज गरिएको हो।

स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री भएका थिए।

प्रकाशित:
2020/12/02, 7:56