पूर्व गृहमन्त्री नैनबहादुर स्वाँरको निधन 

सुदूर प्रेस संवाददाता

धनगढी–अछामको ऋणीकोटमा जन्मेका पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँरको आज निधन भएको छ । कोरोना सङ्क्रमणमुक्त भएर काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल बाट बुधवार डिस्चार्ज भएका स्वारको आज बिहान काठमाडौँ स्थित आफ्नै निवासमा निधन भएको हो ।

कोरोना सङ्क्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको कात्तिक १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। 

अस्पतालबाट घर ल्याएपछि स्वाँरको अवस्था झन् कमजोर बन्दै गयो। खानासमेत खान छाडेपछि परिवारका सदस्यले लक्ष्मीपूजाको भोलिपल्ट उनको शरीरबाट अक्सिजनको मात्रा घट्नुका साथै रक्तचापसमेत कम हुँदै गयो। त्यसपछि परिवारले नर्भिक अस्पताल लगेका थिए। 

अस्पतालले स्वाँरको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएकोले तुरुन्त भेन्टिलेटरमा राखेर उपचार गर्ने सुझाव दियो। त्यो समयमा पुनः पिसिआर परीक्षण गर्दा पनि स्वाँरको कोरोना पोजेटिभ नै आएको थियो।

भेन्टिलेटरमा उपचार सुरु भएपछि स्वाँरको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो। अक्सिजनको मात्रा बढेर ८० भन्दामाथि पुगेपछि भेन्टिलेटरबाट सिसियूमा सारिएको थियो।

सिसियूमा एक हप्ता राखेपछि अक्सिजनको मात्रा र रक्तचाप नियन्त्रणमा आयो। त्यसपछि पनि उनलाई चिकित्सकले विशेष निगरानीमा थप उपचार प्रक्रिया अगाडि बढाएका थिए। उनको अवस्थामा सुधार आएपछि पुनः पिसिआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आएपछि र स्वास्थ्यमा सुधार भएपछि उनलाई बुधवार दिउँसो डिस्चार्ज गरिएको हो।

को हुन स्वाँर ?

१९८४ सालमा अछामको ऋणीकोटमा जन्मेका स्वाँर पुराना राजनीतिज्ञ हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वउपाध्यक्ष हुन् ।

उनी पञ्चायती व्यवस्था छँदा पटकपटक मन्त्रीदेखि राष्ट्रिय पञ्चायत अध्यक्ष भए । २०२२ सालमा कैलाली जिल्लाको निर्विरोध सभापति भएका थिए । त्यसपछि २०२४ सालमा किसान संगठनबाट राष्ट्रिय पञ्चायत सदस्य भए ।

त्यसको एक वर्षपछि नै राज्यमन्त्री बन्न सफल भए । २०२५ सालमा भूमिसुधार राज्यमन्त्री भएका थिए ।

२०३० सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका हुन् । २०३७ सालमा कानुन मन्त्री भएका उनी २०३८ सालमा फेरि राष्ट्रिय पञ्चायत सदस्य भएपछि खाद्य, कृषि मन्त्री भए। पञ्चायती व्यवस्थाविरुद्ध राजनैतिक दलले आन्दोलन सुरु गरे २०४६ सालमा ।

आन्दोलन चर्कंदै गएपछि मरिचमान सिंहलाई प्रधानन्त्रीबाट हटाएर लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । त्यो मन्त्रिमण्डलमा उनले गृहलगायत ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

 

प्रकाशित:
2020/12/03, 11:43