बझाङ – डोटी अस्पतालबाट फरार भएका बलात्कार तथा हत्याका आरोपित पक्राउ परेका छन् । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए ।
उनलाई डोटीको पूर्वीचौकी गाउँपालिकाको फुलोट भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी जनक पाण्डेले बताए ।
अस्पतालबाट भागेर उनी कसरी त्यहाँ पुगे भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको पनि पाण्डेले जानकारी दिए ।
यसअघि बोहरालाई पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएको थियो । प्रहरीका अनुसार उनी जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएका थिए । उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।
कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।