जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

Accident
दुर्घटनाग्रस्त जिप
सुदूर प्रेस संवाददाता

हुम्ला–हुम्लामा शुक्रवार राति  जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको हेप्का खोलाबाट बिरामी लिएर सिमिकोटतर्फ फर्किँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जिप सिमिकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता इन्स्पेक्टर सिताराम विष्टले शुक्रवार राति करिब १० बजेतिर जिप दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा परी १ महिलासहित ४ जनाको मृत्यु भएको विष्टले बताए ।

दुर्घटनामा परी १ वर्षको बच्चासहित अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक सिमिकोट गाउँपालिका–२ का सींगम भण्डारी, सिमिकोट गाउँपालिका–६ बस्ने प्युठानका अजय बस्नेत, सिमिकोट–८ खोल्सीका कल्पना सिंह, सोही ठाउँका १ वर्षीय बालक मिलन सिंह, खोल्सीकै सम्झना शाही तथा नाम्खा गाउँपालिका १ घर भएको झुमझुम लामा र सिमिकोट बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेहरु सबै जिल्ला अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर विष्टले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतकको भने पहिचान खुलेको छैन । बोलेरो जिप सडकबाट करिब ६ सय मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित:
2020/12/05, 7:35