सुदूरपश्चिममा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ र कमल बजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनाको परीक्षण गर्दा थप ९२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ३९ जनाको परीक्षण गर्दा ४८ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा ८४ जनाको परीक्षण गर्दा २६ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ५६ जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै जिल्ला अस्पताल बैतडीमा ३९ जनाको परीक्षण गर्दा ६ र डोटी अस्पताल प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताए। डडेलधुरा अस्पताल प्रयोगशालामा  परीक्षण गरिएका २२ जनाको परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको छ । 

 कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, यस्तै मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २र२ जनामा सङ्क्रमण देखिएको छ । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा समेत कोराना पुष्टि भएको छ।

त्यसै गरी बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ११,७२८ पुगेको छ। ती मध्ये २,०५४ जना सक्रिय सङ्क्रमित छन् ।  प्रदेशभर सङ्क्रमण पुष्टि भएका ९ हजार ६ सय ३३ जनाले कोरोना जितेका छन् भने ४२ जनाको मृत्यु भएको छ। 

प्रकाशित:
2020/12/06, 8:34