सुदूरपश्चिममा सडक दुर्घटना बढेको बढ्यै,पछिल्लो २१ दिनमा २२ जनाको मृत्यु

साढे तीन वर्षभित्र ९६४ सवारी दुर्घटना हुँदा ५६८ जनाको ज्यान गयो
Accident
सुदूर प्रेस संवाददाता
  • गत शनिवार राति डोटीको दुर्गम स्थानीय तह बोगटान फुड्सिल गाउँपालिका वडा ७ मा जिप दुर्घटना भयो। घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भयो।
  • महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतवार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको थियो।
  • गत बिहीवारमात्रै कैलालीमा बिहेको वीङ्गर (जिप) दुर्घटना भयो। बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको वीङ्गर दुर्घटनामा परेको हो। सुप प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर बिहीवार राति ११ बजेतिर गोदावरी नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा पर्दा बेहुला बेहुलीसहितका १३ जना घाइते भए।

ग्रामीण सडकमा मात्रै होइन गत कार्तिक मसान्तमा बैतडीमा मुख्य राजमार्ग क्षेत्रमै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो। उक्त दुर्घटनाको कारण भने यान्त्रिक गडबडी र चालकको मनपरी रहेको प्रहरीको आङ्कलन छ। यी त प्रतिनिधि घटनामात्रै हुन्। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ।

यस्तो छ दुर्घटनाको आँकडा

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार २०७४ साल साउन यता प्रदेश भरी ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन्। सुदूरपश्चिममा मङ्सिर १ देखि २१ गतेसम्म पछिल्लो २१ दिनमा २८ सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ५९ जना घाइते भएका कार्यालयका प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए।

प्रदेशमा आर्थिक वर्ष २०७४/०७५ मा २१९ सवारी दुर्घटनामा १६६ जनाको मृत्यु भयो र ३३७ जना घाइते भए।  आर्थिक वर्ष ०७५/०७६ मा ३ सय १६ सवारी दुर्घटनामा २२३ जनाको मृत्यु भयो र ४१२ जना घाइते भए । आर्थिक वर्ष ०७६/०७७ मा २८६ दुर्घटनामा १४३ जनाको मृत्यु भयो, ३०७ जना घाइते भए र चालू आर्थिक वर्षको हालसम्म ५ महिनामा १४३ दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ३०७ जना घाइते भएका उप्रेतीले जानकारी दिए।

किन बढ्दैछ दुर्घटना?

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार नयाँ काटिएका ग्रामीण सडकहरूका कारण दुर्घटना बढेका छन्। तर उनले त्यसलाई मात्रै प्रमुख कारण मान्न नसकिने उल्लेख गर्दै मानवीय त्रुटिहरूले पनि दुर्घटना बढाएको बताए। ‘ग्रामीण सडकमा राति सवारी चलाउन नहुने हो तर त्यसको पूर्ण पालना हुन सकेको छैन,’ उनले भने ‘अहिले काटेका इन्जिनियरिङ विनाका सडकहरू दुर्घटनाका कारण बनेका छन् भने, राजमार्गहरूमा लामो समयसम्म एकै जनाले सवारी चलाउनुपर्ने, चालक तनावमा हुने तथा यान्त्रिक गडबडीसमेत दुर्घटनाको कारण बन्ने गरेका छन्।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार ग्रामीण सडक दुर्घटनाका प्रमुख कारक हुन्। ‘सडकहरू जथाभाबी डोजर प्रयोग गरेर प्रोपर इन्जिनियरिङ विना धमाधम काटिएका छन्,’ उनले भने ‘यसरी आफूखुसी काटिएका सडकका कारण प्रदेशमा दुर्घटनाको जोखिम बढेको छ। साथै पहिलेको तुलनामा अहिले सवारीको चाप बढेकाले समेत दुर्घटना बढेका हुन्।’

उनका अनुसार त्यसबाहेक चालक तथा सवारी धनीको लापरबाही र मनोमानीले दुर्घटना बढाएको छ। ‘सुदूरपश्चिममा ग्रामीण भूगोल ठुलो छ। हामीसँग नियमन गर्ने जनशक्ति कम छ। तथापि चालक र सवारी धनीले अटेरी गरेर बढी सवारी चलाउने गरेका छन्। आफूखुसी भित्री सडकमा यात्रु राख्ने गरेका छन्। त्यसले पनि दुर्घटनाको जोखिम र दुर्घटनाहरू बढेका हुन्,’ उनले भने ।

‘यसरी समग्रमा हेर्दा पहिलो कारण सवारी चालकको लापरबाही हो,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंह भन्छन्, ‘सडकको अवस्था र कसरी सवारी चलाउने भनेर सबैभन्दा बढी जानकार त चालक हुन्छन् तर ट्राफिक नियम उल्लङ्घन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, जथाभाबी ओभरटेक गर्ने, ग्रामीण सडकमा समेत तीव्र गतिमा सवारी हाँक्ने तथा रातीको समयमा सवारी चलाउनाले गर्दा दुर्घटना हुन्छन्।’

दुई पाङ्ग्रे सवारीको हकमा भने चालकको सबैभन्दा बढी लापरबाही पाइएको प्रहरीको भनाई छ। ‘गतिमा ध्यान नदिने हुँदा मोटरसाइकल दुर्घटनाको प्रमुख कारक चालकको लापरबाहीले सवारीको गति बन्न पुगेको छ। कहिलेकाहीँ त रोकेका सवारीमा ठोक्किएर समेत भयानक दुर्घटना हुन्छन्,’ उनले भने ।

तथापि प्रहरीले यसको न्यूनीकरणका लागि विभिन्न प्रयास गरिरहेको जनाएको छ। ‘सवारी दुर्घटना न्यूनीकरणका लागि हामीले भरपर्दो उपायहरू अपनाउन कारबाहीतर्फ पनि सक्रियता बढाएका छौँ। सचेतनाका लागि पालिकाका पदाधिकारी यात्रु र स्थानीयसँग परामर्श गर्नेलगायत सेकसम्म सडकलाई सुरक्षित बनाउन हामीले हरदम प्रयास गरिरहेका छौँ,’  प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने ।

प्रहरीले यसको नियन्त्रणमा कुनै एक पक्षमात्रै जिम्मेवार भएर नहुने भन्दै प्रहरी, सवारी सञ्चालक, चालक, यात्रु र सरोकारवाला तथा अन्य सडक प्रयोगकर्ताहरू पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित:
2020/12/08, 9:12