भीमदत्तका महिला स्वयंसेविकालाई अवकाशमा एक लाख

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–भीमदत्त नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाले अवकाश पाउँदा रित्तो हात घर फर्कनु पर्ने छैन।

महिला स्वास्थ्य स्वयं सेविकालाई अवकाश भएपछि नगरपालिकाले एक लाख रकम उपलव्ध गराउने भएको छ। स्वयं सेविकालाई नगरको स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानका लागि प्रोत्साहनस्वरूप नगद रकम प्रदान गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

 ‘स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविकाले नि:स्वार्थ भावनाका साथ पुर्‍याएको योगदान उच्च छ’ उनले भने, ‘कामको मूल्यांकन जति गरे पनि कम हुन्छ। नगरका तर्फबाट अवकाश पाउँदा रित्तो हात पठाउँदैनौं।’ भीमदत्त नगरपालिकामा एक सय ५२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकाले परिवार नियोजन, मातृ शिशु, स्वास्थ्य प्रवर्धन, नवजात शिशु स्वास्थ्य प्रवर्धन, बाल स्वास्थ्य प्रवर्धन, पोषणसम्बन्धी स्वास्थ्य शिक्षा र परामर्श, सरुवा रोग तथा महामारी नियन्त्रणलगायत कार्यमा सघाउ पुर्‍याउँदै आएका छन्।  

प्रकाशित:
2020/12/13, 7:48