भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

Corona Update
सुदूर प्रेस संवाददाता

 भारत– भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड नाघेको हो ।


भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ९५.४६ प्रतिशत संक्रमित निको भएका छन् ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शनिबार ११ लाख ७१ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । भारतमा शनिबार साँझसम्म १६ करोड ९० हजार ५ सय १४ नमुना परीक्षण भएको छ ।

प्रकाशित:
2020/12/19, 11:09