जन्मदिनको शुभकामना छोराः ‘ठुलो होइन असल मानिस बन्नु’

Bed joshi
बेद जोशी

जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुसीहरू चाहीने होइन रहेछ, एक दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुँदा रहेछन् । त्यस्तै क्षण हो छोरा, हाम्रो लागी अमूल्य रत्न भएर तिमी जन्मेको आजको अर्थात् पौष-१८ गतेको दिन। असल र सफल व्यक्तिको रुपमा हेर्ने हाम्रो चाहना...,अबोधपनमा ताते ताते गर्दै पहिलो खुड्किलो पार गर्‍यौ त्यस अवसरमा तिमिलाई अनेक-अनेक शुभकामना अनि अथाह माया...।

‘बेद’को अंश हौ रे तिमी, त्यसैले तिम्रो मामुलाई तिम्रो नाम ‘बेदांशु’ नै राख्ने मन भएछ। हुन त तिमी मेरो मात्र होइन हामी दुवैको अंश हौ, अनि सिङ्गो परिवारकै पनि। तिमीले खुसीको शंखनाद गर्दै हाम्रो जीवनमा प्रवेश गरिरहँदा तिम्रो मामुले पाएको अनि खपेको दुःख,पिडाका क्षण र अनगिन्ती समर्पणहरुलाई व्यक्त गर्न मसँग शब्दहरु नै छैनन्। पितृ सत्ताको नजानिँदो प्रभावले होला उनलाई तिमी मेरो अंश हौ भन्ने लागेको, खासमा त तिमिलाई तिम्रो मामुले नै आफूभित्रको एक अंश जसरी सँगालेर हुर्काउँदै यहाँसम्म पुर्‍याइन, जसमा मात्र मेरो अटुट साथ रह्यो। जे होस तिम्रो मामुको खुसी नै मेरो खुसी,त्यसैले उनको इच्छा मुताबिक तिमीलाई बेदाशुं भनेर बोलाउने निर्णय गर्‍यौ। बाँकी तिम्रो आफ्नो पहिचान र छुट्टै परिचय आफ्नै सत्कर्मले निर्माण गर्न सफल हुनु तिमीलाई फेरी पनि शुभकामना।

जीवनमा ठुलो भन्दा पनि असल व्यक्तिको रुपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैँ रहनेछ।तिम्रो हुर्काइलाई जीवनको प्रथम शिक्षालयको रुपमा लिँदै संसारलाई चिन्ने र बुझ्ने सकारात्मक नजर, अनि त्यो संसारमा कसैको नजरमा नबिझाउने सुयोग्य पात्रका रुपमा तिमीलाई स्थापित गर्न हाम्रो हर सम्भव प्रयास रहनेछ। मात्र तिमीले हाम्रो यही मनोकाङ्क्षा मिश्रित ताते तातेकै लयमा आफ्नो चाल अघि बढाइरहनु छोरा। यो हाम्रो मात्र होइन तिम्रो हजुरबुवा, हजुरआमा र सकल परिवारकै चाहना हो। थाहा छ, तिम्रो हजुरबुवाको आँखामा पनि तिम्रा लागी कैयौँ सपनाहरु छन्,जुन पुरा हुने दृढ विश्वासमा वहाँ अडिग हुनुहुन्छ। अध्यात्म, नैतिकता र संस्कार प्रेमलाई आत्मसाथ गर्दै जीवन कलात्मक र सफल रुपले जिउने अभ्यासमा अभ्यासरत तिम्रो हजुरबुवाको सपनालाई साकार पार्दै तिमीले मानवीय संवेदनाप्रति सदैव सजग रही आदर भाव,सेवा भाव अनि परोपकारी मन मार्फत सबैको मन जित्न सक्ने एक असल व्यक्ति बन्न सक्नुपर्नेछ।

तिमिलाई याद दिलाउन चाहन्छु कि, एक नवजात शिशु जन्मँदा छोरालाई मात्र प्राप्त हुने ‘छैँटीको संस्कार’ मार्फत छोरा र छोरीबिचको विभेदपूर्ण व्यवहार प्रारम्भ गर्नमा अभ्यस्त हाम्रो समाजमा पुरुषत्वको गर्व कुसंस्कार र बाहुबली स्वभावमा होइन, आफ्नो सुझ-बुझ र समयसापेक्ष बुद्धिमत्तापूर्ण व्यवहारमा हुन्छ भन्ने सकारात्मक सोचलाई अङ्गीकार गर्दै, नारीप्रतिको सम्मान र समभावपुर्ण व्यवहारबाट सच्चा पुरुषको परिचय निर्माण गर्नमा सदैव अग्रसर हुनु।कुनै पनि नारिलाई नारी भएकै कारण तिम्रो व्यवहारबाट आजित हुन नपरोस् अनि तिम्रो उपस्थितिले असहजता होइन हरेक नारीलाई सुरक्षित महसुस गराओस्, साथै तिमिलाई आफू पुरुष भएकोमा यस कुराले गर्व होस, तिमीलाई मेरो सुवेक्षा।तिमीले यस मुलमन्त्रको अभ्यास आफ्नै मामुको सम्मान र आदर भावबाट गर्नुपर्नेछ। किनकि आफूलाई जन्म दिने आमा ती हुन, जसले सन्तानको सुख र खुसीका लागी आफ्ना सयौँ खुसीको तिलाञ्जली दिएकी हुन्छिन्। जसरी मलाई मेरा आमाहरु प्रति गर्व र आदर भाव छ तिमीलाई त्यो भन्दा पनि बढी हुनुपर्छ बाबु।

तिम्रो सफल भविष्यको कल्पना गरिरहँदा अहिलेको पछिल्लो पुस्तामा देखिएको अस्थिरता,विचलन,असामाजिक व्यवहार र भर्चुअल प्रेमले कता कता डर पनि लागिरहन्छ कि, तिम्रो समयसम्म खै कस्तो हुने हो भनेर।मलाई तिमी पनि समयसापेक्ष प्रविधिमैत्री भएको हेर्न मन छ तर प्रविधिको साँघुरो परिधिभित्रै समेटिएको भने हेर्न मन छैन, त्यसै गरी किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानमा पोख्त भई देश-विदेशसम्म फैलिएको हेर्न मन छ। त्यो सँगसँगै अन्य धेरै अभिभावकको चाह जस्तै तिमिलाई पनि धैर्यवान,दूरदर्शी र असल संस्कार सहितको साक्षर र सफल व्यक्तिको रुपमा हेर्न मन छ। आशा छ, तिमिले मेरो कुरालाई पछि बुझ्नेछौ र अवलम्बन गर्नेछौ।तिम्रो प्रथम जन्मोत्सवमा मेरो भौतिक उपस्थिति त हुन सकेन तर मेरा सुवेक्षाहरु र शुभ-आशीर्वाद सदा तिमीसँगै छ। जसरी हिजो तिम्रो हजुरबुवा र हजुरआमाले हाम्रा लागी सङ्घर्ष गर्नुभयो आज त्यस्तै मार्गमा हामी दौडी रहेका छौँ। हरेक अभिभावकले आफ्ना सन्ततिको सुन्दर भविष्यका लागी कहिले आफ्ना खुसीसँग सम्झौता गर्दछ त कहिले उनिहरुको लागी खुसी बटुल्छु भन्दै टाढा-टाढा सम्म भौँतारिने गर्दछन्। ठिक त्यस्तै परिस्थितिमा छु म बाबु, यो कुरा  भोलि बुझ्ने भएपछि सबै बुझ्नेछौ तिमीले। यस पटकको तिम्रो जन्मदिनमा तिमीसँग हुन सकिन त के भो, आउने थुप्रै जन्मदिनहरु प्रेमका स्पर्श सहितका थुप्रै खुसी साट्दै मनाउँला नि। फेरी तिम्रो मामु अनि पुरै परिवारको अपार मायाले तिमीलाई मेरो अभाव खड्किन दिएको पनि त छैन। थाहा छ अर्को कुरा, हाम्रो सिङ्गो परिवारमा तिम्रो अबोधपन मिश्रित हरेक क्रियाकलापले कम्ती रौनक थपेको छ।तिम्रो हजुरबुवा र हजुरआमालाई तिम्रा हरेक क्रियाकलाप मैले सानो छँदा गरे जस्तै लाग्छ रे, तिम्रो मामु मसँग टाढा भएर बस्नुपरेको न्यास्रो तिमीसँगै भुलेर मेटाउने गर्छ रे, मेरो सामिप्यताको अभाव महसुस गर्ने तिम्री दिदीलाई  तिम्रो साथले भरपुर आनन्द दिएको छ रे। अनि यो सब कुरा सुनेर मेरो मन हर्ष-विभोर हुने मात्र होइन मलाई आफू कोसौँ टाढा भएको अनुभूति सम्म हुँदैन। जे होस,यो सबमा तिमी नैत कारणको रुपमा रहेका छौ। यसरी नै सधैँ हाम्रो परिवारको खुसीको कारण भई रहनु है। हाम्रो मात्र होइन सिङ्गो देश र आफ्नो ठाउँ,समाजका थुप्रै दुःखेका मनहरुको समेत खुसीको कारण बन्न सक्षम हुनु, आशीर्वाद छ तिमीलाई। फेरी पनि भन्छु छोरा, जिन्दगीमा ठुलो मान्छे होइन असल मानिस बन्नु,तिम्रो बाबाको तर्फबाट तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना.....!

प्रकाशित:
2021/01/02, 8:05