सुदूरपश्‍चिम प्रदेशमा नेकपाका ३७ सांसदमध्ये ओलीको पक्षमा ६ जनामात्रै !

ओली पक्षीय सांसद भन्छन्–संसदीय दललाई पार्टीको बैठकजस्तो बनाइयो
pradesh sava
सुदूर प्रेस संवाददाता

धनगढी –सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् । सभामुख र उपसभामुखबाहेक ३७ जना नेकपा सांसद रहेको सुदूरपश्चिम संसदीय दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने धनगढी बाहिर भएकाले अनुपस्थित थिए । 


नेकपाभित्र आएको विभाजनको रेखापछिको अवस्थामा पहिलो पटक शनिबार संसदीय दलको बैठक बसेको हो । बैठकमा नेकपा प्रदेश इन्चार्ज भीम रावल सहभागी थिए । बैठकमा सहभागीमध्ये ओली निकट ६ जना सांसदले हस्ताक्षर गर्न इन्कार गरेको नेकपाका सचेतक अक्कलबहादुर रावलले बताए । उनका अनुसार हस्ताक्षर नगर्नेमा केही दिनअघि भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरी, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा, कञ्चनपुरका महेशदत्त जोशी र कैलालीका रतन थापा रहेका छन् ।

हस्ताक्षर नगर्ने मध्येका सांसद महेशदत्त जोशीले भने, ‘संसदीय दललाई पार्टीको बैठकजस्तो बनाउने, सरोकारै नभएको संघीय संसद् विघटनको विरोध गर्ने लगायतका ऐजेन्डा आएकाले हामीले हस्ताक्षर नगरेका हौं ।’ हालै पदबाट हटाइएको मन्त्री बोहराले आफूलाई पदबाट हटाउनुको कारण सोधेको एक सांसदलाई बताए ।

शनिबार संसदीय दलमा देखिएको संख्यासँगै हालका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार स्थिर रहने देखिएको छ । नयाँ सरकार गठन हुन ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा २७ सांसद आवश्यक पर्छ । हाल कांग्रेसका १२, राजपाका २ सांसद छन् । त्यसमा ओली पक्षधर खुलेका ६ जना सांसद खुल्दा वर्तमान सरकार परिवर्तन गर्न आवश्यक संख्या नपुग्ने देखिएको हो ।

संसदीय दलको बैठकले संघीयस संसद विघटनको विरोध गर्नुका साथै प्रदेश सरकारका कामहरु एकताबद्ध भएर गर्ने निर्णय भएको प्रमुख सचेतक तारा लामा तामाङले बताए ।

प्रकाशित:
2021/01/03, 7:32