धनगढी–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हाे ।
केन्द्रीय समिति बैठकले पुस २५ गते तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते सात सय ५३ पालिकामा विरोध प्रदर्शन गर्ने, माघ ८ गते पालिकाका ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
जिल्ला समितिले आफ्नो अनुकूलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक सङ्गठनहरूले आ–आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकले २०७५ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताउनुभयो ।