उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट भन्छन, ‘प्रदेशसभा विघटनको कदम चाल्नुपर्ने अवस्था आए पनि पछि हट्दैनौँ’

Lekhraj bhatta
सुदूर प्रेस संवाददाता

धनगढी–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेशसभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने बताएका छन्। पार्टी विवादपछि काठमाडौंबाट पहिलो पटक गुटका प्रदेश स्तरीय शीर्ष नेताहरूसहित सोमबार धनगढी आइपुगेका मन्त्री भट्टले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय कमिटी सदस्य समेत रहेका भट्टले भने, ‘पार्टीको संस्थापन पक्ष हामी हौँ र हामीले अहिले सत्ता साझेदार, प्रदेश सरकार फेरबदलका विषयमा यो नै गर्ने भनेर निर्णय गरिसकेका छैनौँ। तर, यसमा स्थायी कमिटी र सरकारले गम्भीरतापूर्वक हेरिरहेको छ।’

उनले प्रचण्ड-नेपाल पक्षलाई इङ्गित गर्दै भने, ‘हामीले उहाँहरूले हामीप्रति गर्ने व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ। उहाँहरूले कस्तो व्यवहार गर्नुहुन्छ त्यसलाई सरकारले पनि गम्भीरतापूर्वक हेरिरहेको छ। छिट्टै हाम्रो स्थानीय कमिटीको बैठक बसेर पनि कस्तो कद चाल्ने भनेर टुङ्गो लाग्छ। यदि उहाँहरूको व्यवहारले त्यो खालको कदम चाल्नुपर्ने अवस्था आयो भने पनि हामी पछि हट्दैनौँ।’

उनले पार्टीको अर्को पक्षबाट भएको असहयोगले संसद् विघटन गरी जनादेशका लागि निर्वाचनमा जाने कदम उपयुक्त भएको समेत दावी गरे। प्रचण्डलाई प्रधानमन्त्री र माधव कुमार नेपाललाई अध्यक्षको हतारो भइसकेको भन्दै प्रचण्डले १० वटा सरकार ढलाइसकेकोले उनको राजनीतिक संस्कार ठिक नभएको समेत दावी गरे।

प्रकाशित:
2021/01/04, 7:18