धनगढीमा भूमिहीन सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालय स्थापना 

उप–महानगरपालिकाले काम थाल्यो
purja
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उप–महानगरपालिकाले सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालय स्थापना गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्टले सोमबार कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा गरेको छ ।  जग्गा हस्तान्तरणको प्रक्रिया थाल्नका लागि  भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको सबै काम यसै कार्यालयबाट सञ्चालन हुने नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले कानुनमा व्यवस्था भए अनुसार स्थानीय तहको सहजीकरण समितिले काम थालेको छ नगरप्रमुख नृपबहादुर वडले भने,  नगरमा रहेका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण गरेर जग्गा हस्तान्तरण गरिने छ । नगरप्रमुख वडले विवाद रहित ढङ्गले काम थाल्न इकाईमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिए ।

लगत सङ्कलन इकाई कार्यालय लागि जनशक्तिको व्यवस्थापन गरी सकिएको छ नगरप्रमुख वडले भने, ‘ आजबाट काम सुरु भैसकेको छ ।’ ‘सुकुम्वासी भूमिहीनहरूलाई जग्गा धनी पुर्जा दिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने कुरा सबै पार्टीले चुनावी घोषणापत्रमा नै राखेका थिए नगरप्रमुख वडले भने, ‘ नगरवासी सँग गरेको प्रतिबद्धता चाँडै हुने छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण र लालपुर्जा हस्तान्तरण गर्ने कार्यमा सबै पक्षको सहयोग आवश्यक भएको बताईन । उनले भनिन्, पाएको जिम्मेवारी स्थानीय तहले पुरा गर्ने छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण गर्ने काम चाडै अगाडी बढाइने बताए । धनगढी उप–महानगरपालिका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले ऐलानी र प्रति जग्गामा बसेकाहरूलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको बताए । उनले भने, अव यो काम सम्भव हुने छ । भूमिसम्बन्धी समस्या समाधान आयोग स्थानीय तह समन्वय समितिका सदस्य पुष्कल कर्माचार्यले समितिले चाँडोभन्दा पुरा गर्ने गरी काम थालिएको बताए । 

 

प्रकाशित:
2021/01/05, 7:19