बेलौरीवासीको प्रतिरोध पछि एसएसबीले दशगजाबाट अस्थायी पोष्ट हटायो

ssb
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।

सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षको विरोधका कारण हटाएको हो। बुधवार एसएबीले दशगजा क्षेत्रमा स्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए।

सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउनासाथ तत्कालै हटाउन लगाइएको बताए।

‘एसएसबीका स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ,’ उनले भने, ‘एसएसबीका अधिकारीहरूसँग समन्वय गरी पोष्ट हटाउन लगाएका छौं।’

अन्तरराष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका अध्यक्ष पल्लवराज भट्टले दशगजा क्षेत्रमा भारतीय एसएसबीले अस्थायी पोष्ट राखको जानकारी पाउनासाथ सशस्त्र प्रहरीका जिल्ला स्थीत प्रमुखलाई जानकारी गराइएको र तत्काल हटाउन लगाइएको बताए।

दशगजा क्षेत्र नेपाल भारतको सीमा छुटयाउने बिन्दू भएकाले दुवै देशले कुनै पनि किसिमको गतिविधि गर्न पाउँदैनन्।

प्रकाशित:
2021/01/07, 8:53