अछामको बूढीगंगा जलविद्युत् आयोजनाको टेन्डर प्रक्रिया सुरु गरिँदै

सुदूर प्रेस संवाददाता

अछाम–अछामको साँफेबगर नगरपालिका–१० स्थित घुँघरकोटमा २० मेगावाटको बूढीगंगा अर्द्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानी रहने आयोजनाको निर्माण थाल्न टेन्डर प्रक्रिया सुरु हुन लागेको छ । 


६ महिनाभित्रै टेन्डर प्रक्रिया पूरा गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख सूर्यप्रसाद रिजालले बताए । ‘अहिले टेन्डर अघि पूर्वयोग्यता (आईपीओ) का सूचना जारी भइसकेको छ । पूर्वतयारीका सबै काम सकिएको छ,’ रिजालले भने, ‘निर्माण कम्पनीहरूबाट पूर्वयोग्यता खरिद प्रक्रिया पनि सुरु भएको छ । टावर राख्ने ठाउँको जग्गा अधिग्रहण बाँकी छ । अब त्यो पनि सुरु गर्छौं ।’ २०७२ असार १४ मा सम्झौता भई २०७३ पुसमा डीपीआर बनाउने जिम्मा पाएका अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्रालि र नेपालको कम्पनी उदय कन्सल्टेन्सीले २ महिना अघि मात्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको आयोजना कार्यालयले जनाएको छ । डीपीआरको लागत १९ करोड ९१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।


आयोजना बनाउन २०५२ सालदेखि अध्ययन सुरु भएको थियो । सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार आयोजनाको अनुमानित कुल लागत करिब ६ अर्ब रुपैयाँ रहेको छ । आयोजना प्रमुख रिजालका अनुसार आयोजना निर्माणका लागि २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँको ऋण सम्झौता भइसकेको छ । त्यसैगरी २०१२ जुलाई ४ मा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (१.८ अर्ब रुपैयाँ) ऋण सम्झौता भएको थियो । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख गरिएको उनले बताए ।

आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिमका जिल्लाहरूमा खपत हुने र बाँकी कैलालीको पहलमानपुरसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८.६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्युत् गृह, टेलरेस, सव–स्टेसन र प्रसारण लाइन आदि निर्माण हुने आयोजना कार्यालयले जनाएको छ ।

नयाँ भवनमा कार्यालय सारेपछि आयोजनाले आन्तरिक काम अघि बढाएको छ । भवन निर्माणको जिम्मा पाएको बिकेओल बिल्डर्स काठमाडौंलाई पटकपटक ताकेता गरेपछि सम्झौता भएको ३ वर्षमा ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण भएको हो । आयोजनालाई आवश्यक पर्ने २९९ रोपनी जग्गासमेत अधिग्रहण गरेको आयोजना प्रमुख रिजालले बताए ।

आयोजनाका अनुसार बाँध क्षेत्रका लागि अछामकै मेल्लेख गाउँपालिका–४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका–१३ बाब्लामा ३२ रोपनी जग्गा अधिग्रहण गरिएको छ । डुबान क्षेत्रमा पर्ने कुस्कोटमा करिब ११ रोपनी र बाजुराको बूढीगंगा नगरपालिका–१० बाह्रबिसमा करिब २२ रोपनी जग्गा अधिग्रहण भएको छ ।

यसैगरी बाँधस्थल तथा सर्जट्यांकका लागि हात्तीकोटमा करिब ९१ रोपनी र क्याम्प स्थल तथा पहुँच मार्गका लागि घुँघुरकोटमा करिब ६५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । पुल बनाउन २०७३ साउन ९ मा करिब १ करोड २५ लाखमा श्याम सुन्दर/श्री गीता/हिम सगरमाथा जेभी काठमाडौंसँग सम्झौता भएको थियो । हाल पुल निर्माणका लागि ट्र्याक खोलिएको र अन्य कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित:
2021/01/26, 8:53