नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

banda khulyo
सुदूर प्रेस संवाददाता

धनगढी–प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक बन्द सम्पन्न भएको बताए ।


बिहीबार नेकपाको दाहाल-नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो । बन्द खुलेकोबारे श्रेष्ठले भने, 'नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।'

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल लगाएको श्रेष्ठले दाबी गरे । उनले भने, 'हामीले शान्तिपूर्ण बन्द आह्वान गर्दा पनि प्रहरीले विभिन्न ठाउँमा बल प्रयोग गरेको छ । हाम्रा सयौं नेता कार्यकर्ता घाइते भएका छन् । सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।'

बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् । टाउकोमा चोट लागि गम्भीर घाइते भएका नेता झालाई जनकपुरबाट काठमाडौं रिफर गरिएको छ ।

प्रकाशित:
2021/02/04, 6:01