सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा मतदान हुने

पहिलोमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा मतदान
matdan
सुदूर प्रेस संवाददाता

काठमाडौँ–सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा मतदान गर्ने निर्णय गरेको हो । त्यसअनुसार प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा मतदान हुनेछ । प्रदेश १, वाग्मती र कर्णाली प्रदेशमा दोस्रो चरणमा मतदान हुनेछ ।

वैशाख १७ मा प्रदेश २ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लामा मतदान हुनेछ । मतदान हुने जिल्लाहरुमा प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन् । यस्तै गण्डकीका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र पूर्वी नवलपरासीमा मतदान हुनेछ ।

लुम्बिनीका नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया पनि बैशाख १७ मै मतदान हुने सूचीमा छन् । यस्तै सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा पनि पहिलो चरणमा निर्वाचन हुनेछ ।

वैशाख २७ मा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशमा मतदान हुनेछ । मतदान हुने जिल्लामा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी छन् । वाग्मतीका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं छन् । कर्णालीका रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला छन् ।

प्रकाशित:
2021/02/10, 7:44