नेकपाको दबाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयो : कांग्रेस नेता महर 

Nain sing mahar
सुदूर प्रेस संवाददाता

बझाङ –नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भई नसकेका दुवै समूहको दबाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको आशङ्का छ । 

नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ’लखन’ को हत्याको विरोधमा बझाङको पाथीभरामा आयोजित विरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक सङ्कट प्रतिदिन गहिरिँदै गएको बताए । “सर्वोच्च अदालतलाई राजनीतिक दबाबमा राख्ने काम भएको छ” नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका महरले भने– “अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा ध्रुवीकरण सँगै सङ्कट थपिँदै गएको छ ।” 

महरले मुलुकलाई थप सङ्कटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ ” महरले भने अदालतको निर्णयमा कुनै पनि खाले दबाब देखिनु हुँदैन ।”

सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिस्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिँदै आएको उल्लङ्घनको निरन्तरता मात्र भएको बताए । 

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता महरले सरकार आफै अपराधीको नायके जस्तै देखिएको आरोप लगाए । “सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ” महरले प्रश्न गरे– “कानुनी राज्यमाथिको यो भन्दा ठुलो चुनौती के हुन सक्ला ?” 

“निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो, अहिले भारगरथी भट्टको अनुसन्धानमा ढिलाइ गरिरहेको छ” महरले भने– “अब सरकारसँग आस गर्ने ठाउँ बाँकी छैन ।” 

नेता महरले नेपालका कम्युनिस्ट हरुले हिँड्दै पाइला मेट्दैको प्रवृत्ति देखाएको जिकिर गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? कम्युनिस्टप्रति रोष प्रकट गर्दै उनले भने, “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बाँकी छैन ।” उनले कहिले सत्ता र कहिले प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिस्ट शक्तिको विशेषता नै देखिएको टिप्पणी गरे । कम्युनिस्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउँदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।

प्रकाशित:
२०७७ फाल्गुन , ०६:३८
SPA
KN
Priya Gahana Pasal