रहेनन् समाजसेवी बद्रीनाथ भण्डारी

badri
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीका समाजसेवी,दानवीर व्यक्तित्व  तथा साहित्यकार बद्रीनाथ भण्डारीको गए राती निधन भएको छ। धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडीमा बस्दै आएका भण्डारीको ९६ वर्षको उमेरमा निधन भएको हो ।  वि.स.१९८३ मा डोटीको निरौलीमा जन्मिएका भण्डारी केही महिनादेखि  क्यान्सर रोगबाट ग्रसित थिए। 

भण्डारी कैलाली जनपुस्तकालय, सुदूर पश्चिमाञ्चल साहित्य समाजका सल्लाहकार, बद्रीनाथ सिकाइ केन्द्रका अध्यक्ष पनि थिए। 

वि.स. २०१९ मा डोटीको निरौलीबाट कैलालीको उर्मामा बसाइ सरेका भण्डारीको व्यक्तित्व बहुआयामिक रहेको थियो। तराईमा बसाइ सर्नु पूर्व उनले डोटीमा ३ वर्ष  शिक्षण पेसा गरेका थिए। 

भण्डारी उर्मा बसाइको क्रमसँगै वि।स। २०२२ सालमा पहिलो पटक उर्मा गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए। उनले ३ कार्यकाल प्रधानपञ्चको निर्वाचन जितेका थिए । भण्डारी २०२५ सालमा धनगढी बसाइ सरेका थिए। 

भण्डारीले दर्जनौँ धार्मिक संघ संस्थालाई सहयोग समेत गरेका थिए।  उनले कुशल लेखक र कविको रुपमा पहिचान पनि आफ्नो पहिचान बनाएका थिए। भण्डारीको ‘उज्यालो चन्द्रमा’ नामको कृषि प्रकाशित छ भने साहित्यमा सुदूरपश्चिमकै ठुलो धनराशिको पुरस्कार मानिने ‘वद्रीकृष्ण वाङमय पुरस्कार’ समेत स्थापना गरेका छन्। आफ्नो र आफ्नी पत्नीको नाममा उनले ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। 

सो अक्षयकोष मार्फत सुदूरपश्चिम साहित्य समाज कैलालीले प्रत्येक वर्ष नेपाली साहित्यमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्दै आएको छ। सुदूर पश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष पद्यराज जोशीले भण्डारीको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको बताए । 

गौरीगङ्गाको शिवगंगा आर्यघाटमा उनको दाहसंस्कार गरिने र शव यात्रा  बिहान साढे १० बजे सुरु हुने भण्डारीका छोरा ब्वसायी राजेश भण्डारीले बताए । 

प्रकाशित:
2021/03/03, 8:06