धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

nagar sava
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ । नगरसभा तीनवटा महत्वपूर्ण विधेयक माथीको छलफल र पारित गरेको छ । सभाले (न्यायीक समिति कार्यविधी) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उप–महानगरपालिका स्वास्थ्य सम्वन्धी ऐन २०७७, धनगढी उप–महानगरपालिकाको वातावरण तथा प्राकृतीक श्रोतको संरक्षण सम्वन्धी ऐन २०६६ को विधेयक माथी नगरसभा सदस्यहरुले छलफल तथा पारित गरेका थिए । यसका साथै बिभिन्न ऐजेन्डाहरुमा पनि छलफल भएको थियो । 
नगरसभा बोल्दै नगरप्रमुख तथा नगरसभा अध्यक्ष नृपबहादुर वडले नगरसभाका सबै सदस्यहरु दिनरात जनताको सेवामा खटिएका कारण धनगढी उप–महानगरपालिकालाई देशकै उत्कृष्ठ नगरको रुपमा सम्मानीत भएको बताए । आफुहरु निर्वाचित भएर आएपछि अहिले सम्म गरेका  कामहरुको समिक्षा गर्दै जनता संग गरेका प्रतिवद्धताहरु बाँकी रहेको समयमा पुरा गर्नुपर्ने छ नगरप्रमुख वडले भने,‘ त्यसैले बाँकी समय हाम्रो लागि महत्वपूर्ण छ ।’ 
आफुहरु निर्वाचित भएर आएपछि १९ वटा वडा कार्यालयहरु मध्य १६ वटा वडाको आफ्नै कार्यालय भवन निर्माण गरेको, ३ वटा स्वास्थ्य संस्थाबाट १० वटा वडामा नगर स्वास्थ्य केन्द्रहरु स्थापना गरेको, पूर्वाधार विकासले गति लिएको नगरप्रमुख वडले बताए । उनले भने, ‘समाजिक क्षेत्रमा पनि उल्लेख्य काम गरेका छौं ।’ धनगढी उप–महानगरपालिका संग जोडिएका नयाँ वडाहरुमा नमुनाको रुपमा विकास गरिएको छ नगरप्रमुख वडले भने, ‘यस अवधीमा मात्रै २७ वटा विद्यालय भवनहरु, सौचालयहरु निर्माण गरिएको छ नगरप्रमुख वडले भने, खानेपानी योजनाहरुको विकासको तथ्याङ्कलाई हेर्नेहो भने धनगढी देशमै दोश्रो स्थानमा पर्दछ ।’ त्यसैगरी नगरप्रमुख वडले बेहडाबाबा, जाखोरताल, शिवपुरीधाम लगायतका धार्मिक पर्यटकिय ठाउँको गुरु योजना अनुसार काम भैरहेको नगरप्रमुख वडले बताए । नगरप्रमुख वडले आफुहरु निर्वाचित भएर आएपछि १४ वटा ऐन, ४ वटा नियमावली, ३२ वटा कार्यविधीहरु, ३ वटा निर्देशिका र २ वटा आचारसंहित गरेर ५५ वटा कानुन निर्माण गरेको बताए ।  नगरप्रमुख वडले कोरोनाको समयमा जनप्रतिनिधीहरुले खेलेको भूमिकाको प्रशंसा गरे ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरसभामा टेबुल भएका विधेयक माथी विधायन समिति र सरोकारवालाहरु संग छलफल भएको बताईन । स्पष्ट हुन नसकेका बिषयमा नगरसभा सदस्यहरुले दिएका सुझावहरुलाई समावेश गरेपछि कानुनहरु राजपत्रमा प्रकाशित हुने छन् उप–प्रमुख भट्टले भनिन्, ‘सबै बिषयमा गहन छलफल हुन सकेमा मात्रै उत्कृष्ठ कानुन बन्न सक्दछन् ।’ उप–प्रमुख भट्टले नगरसभा सदस्यहरुले दिएका सुझावहरु उप–महामहानगरपालिकाका लागि महत्वपूर्ण रहेको बताईन ।’
धनगढी उप–महानगरपालिका वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीले लामो रिक्तता पछि आफुहरु स्थानीयतहमा निर्वाचित भएर आएको बताए । जनतासंग अपेक्षा धेरै छन् अध्यक्ष अधिकारीले भने, ‘ सबै अपेक्षा यसै कार्यकालमा पुरा हुन सक्दैनन् ।’ धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले हावाहुरी र कोरोनाका बिचमा पनि धनगढी उप–महानगरपालिकामा उल्लेख्य काम भएको बताए । धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले चुनावको समयमा जनता संग गरेका प्रतिवद्धता कति पुरा गर्न सक्यौ भनेर समिक्षा गर्दै अगाढी बढ्नुपर्ने बताए । सभामा ३ दर्जन भन्दा बढी नगरसभा सदस्यहरुले छलफलमा भाग लिएका थिए । 
 

प्रकाशित:
2021/03/05, 5:15