कैलाली जनपुस्तकालयद्वारा ६४ औँ वार्षिकोत्सवमा प्रदान गर्ने पुरस्कारको घोषणा

धनगढी–कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा साहित्यकार डा.टीएन जोशीले बताए। बैठकले यस वर्षको कैलाली जनपुस्तकालय पुरस्कार कवि वासुदेव पाण्डेय धनगढीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरि दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार प्रा.डा नारायण चालिसे (काठमाडौ), यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार कवि हर्ष प्रसाद भट्ट( अछाम),'सूर्यप्रसाद- विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार' मिहीलाल उपाध्याय धनगढी र 'हर्ष -पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कार दिव्यश्वरी जोशी (डोटी) लाई प्रदान गर्ने निर्णय गरिएको छ।पुरस्कारको राशि नगद एघार हजार र अभिनन्दन पत्र रहेको छ। कैलाली जनपुस्तकालयको यही फागुन २९ गते धनगढीमा हुने ६४ औं वार्षिकोत्सव तथा साधारण सभामा उक्त पुरस्कारहरू प्रदान गरिने अध्यक्ष डा.जोशीले बताए। यसैगरि पुस्तकालयले बिभिन्न राष्ट्रिय सम्मानहरूको पनि निर्णय गरेको छ। बैठकले पहलमानसिंह स्वार स्मृति राष्ट्रिय सम्मान महादेव जोशी (अछाम), द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान रीता शाही (बाजुरा)लाई, दशरथ चन्द स्मृति राष्ट्रिय युवा प्रतिभा सम्मान टोपेन्द्र शाह 'रसिक' धनगढीलाई,देवकान्त पन्त स्मृति राष्ट्रिय लोकसाहित्य सम्मान शारदा जोशी( कञ्चनपुर) लाई,दीनानाथ भट्ट स्मृति राष्ट्रसेवक सम्मान कृष्णबहादुर धामी धनगढीलाई,जयपृथ्वी बहादुर सिंह स्मृति राष्ट्रिय लोकसंस्कृति सम्मान लिलाधर बास्कोटा(अत्तरिया) लाई, खडक बहादुर सिंह स्मृति राष्ट्रिय शिक्षा सेवा सम्मान मदनराज जोशी कैलाली (मसुरियालाई), जनक बहादुर कर्माचार्य स्मृति राष्ट्रिय सम्मान बीरबल चौधरी कैलालीलाई, एन्डी प्रकाश चटौत स्मृति राष्ट्रिय प्रतिभा सम्मान डा.शेरबहादुर कमर धनगढीलाई र कृष्णबहादुर श्रेष्ठ स्मृति समाजसेवा सम्मान ज्ञानुदेवी बोस धनगढीलाई प्रदान गरिने पुस्तकालयले जनाएको छ। विसं. २०१४  सालमा स्थापित कैलाली जनपुस्तकालय सुदूरपश्चिमकै सबैभन्दा ठूलो र पुरानो सार्वजनिक पुस्तकालयको रूपमा रहेको छ।साहित्यिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको यो पुस्तकालयले स्मार्ट पुस्तकालय निर्माण अभियानलाई अगाडि बढाएको अध्यक्ष डा.जोशीले बताए। पुस्तकालयसंग जोडिएका हाल सात सय भन्दा बढी आजीवन सदस्य र दुइ सय  नियमित पाठक सदस्य रहेको सचिव टङ्क जोशीले बताए।

प्रकाशित:
2021/03/06, 6:07