फेरि बढ्यो इन्धनको मूल्य

petrol
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले फागुनयता तेस्रो पटक इन्धनको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो ।

त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १८ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुर्‍याइएको हो । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे दुई वर्षयताकै सबैभन्दा उच्च हो । पछिल्लो समय लगातार जस्तै निगमले इन्धनको मूल्य बढाउँदै आएको छ । विज्ञप्तिअनुसार एलपी ग्यास र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को खुद्रा बिक्री मूल्यलाई भने यथावत् नै राखिएको जनाइएको छ ।

यसअघि निगमले फागुन ४ र १७ गते आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ दशमलव ३५ रुपैयाँ, डिजेलमा ५ दशमलव ८० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९२ दशमलव ८२ रुपैयाँ घाटा हुने जनाइएको छ । जसअनुसार अर्धमासिक करिब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै निगमले आन्तरिक बजारमा मूल्य बढाइएको निगमले जनाएको छ ।

प्रकाशित:
2021/03/17, 7:51